हवाई क्षेत्र प्रतिबन्धका कारण पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सका १० उडान प्रभावित


काठमाडौं – हवाई क्षेत्र प्रतिबन्धका कारण आइतबार दिउँसो १२ः२० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणअनुसार पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सका आगमन र प्रस्थान गरी कुल १० उडान प्रभावित भएका हुन्।

प्राधिकरणका अनुसार जजिरा एयरवेजका कुवेत–काठमाडौं–कुवेत दुई उडान प्रभावित हुँदा करिब २५० यात्रु असरमा परेका छन्। एयर अरेबियाका शारजाह–काठमाडौं–शारजाह दुई उडान प्रभावित भई करिब ३०० यात्रु प्रभावित भएका छन्। एयर अरेबिया अबुधाबीका अबुधाबी–काठमाडौं–अबुधाबी दुई उडान प्रभावित हुँदा करिब २८० यात्रु असरमा परेका छन्। कतार एयरवेजका दोहा–काठमाडौं–दोहा दुई उडान प्रभावित भई करिब ४५० यात्रु प्रभावित भएका छन्। फ्लाइ दुबईका दुबई–काठमाडौं–दुबई दुई उडान प्रभावित हुँदा करिब ३२० यात्रु असरमा परेका छन्।

यसरी कुल १० उडान प्रभावित हुँदा करिब १ हजार ६ सय यात्रु प्रत्यक्ष रूपमा असरमा परेका छन्। प्राधिकरणले हवाई क्षेत्र खुल्ने अवस्थाबारे सम्बन्धित एयरलाइन्ससँग समन्वय भइरहेको जनाएको छ भने यात्रुलाई आफ्नो उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीसँग सम्पर्क गर्न अनुरोध गरेको छ।