ट्रेसकनसँग बैंकिङ समाचारले गर्यो सम्झौता, दुबई फिनटेक समिटसहित विश्वस्तरीय कार्यक्रमहरूमा रणनीतिक मिडिया साझेदारी गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुबई – बैंकिङ न्यूज एण्ड पब्लिकेशन प्रालिद्वारा सञ्चालित बैंकिङ न्यूज नेपालले अन्तर्राष्ट्रिय व्यवसायिक कार्यक्रम आयोजक ट्रेसकनसँग रणनीतिक मिडिया साझेदारी सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार बैंकिङ न्यूज ‘दुबई फिनटेक समिट’सहित ट्रेसकनद्वारा आयोजना गरिने विभिन्न विश्वस्तरीय कार्यक्रमहरूमा आधिकारिक मिडिया पार्टनरका रूपमा रहनेछ।

२४ फेब्रुअरी २०२६ मा सम्पन्न सम्झौता १८ महिनासम्म प्रभावकारी रहने जनाइएको छ। सम्झौताअनुसार बैंकिङ न्यूजले आफ्नो सम्पादकीय प्राथमिकतासँग मेल खाने ट्रेसकनद्वारा आयोजना गरिने अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा समाचार आवरण, विश्लेषण र विशेष सामग्री प्रस्तुत गर्नेछ।

ट्रेसकन अन्तर्राष्ट्रिय रूपमा परिचित व्यवसायिक कार्यक्रम तथा परामर्श फर्म हो। जसले नीतिनिर्माता, नियामक, सी–लेभल कार्यकारी, प्रविधि नवप्रवर्तक र लगानीकर्तालाई एउटै मञ्चमा ल्याउँदै आएको छ। यस सहकार्यले बैंकिङ, वित्तीय सेवा, फिनटेक, डिजिटल सम्पत्ति तथा उदीयमान प्रविधि क्षेत्रका विषयहरूमा बैंकिङ न्यूज नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार हुने विश्वास गरिएको छ।

सम्झौताअन्तर्गत दुबई फिनटेक समिट, ब्लकचेनमा आधारित एचओडीएल समिट र बेंगलुरु स्किल समिट जस्ता कार्यक्रमहरू समेटिएका छन्। दुबई फिनटेक समिट वित्तीय संस्था, फिनटेक नवप्रवर्तक, नियामक तथा लगानीकर्तालाई एकै ठाउँमा ल्याउने प्रमुख विश्वव्यापी मञ्च हो। एचओडीएल समिट ब्लकचेन, डिजिटल सम्पत्ति, वेब–३ र विकेन्द्रीकृत वित्तीय प्रणालीमा केन्द्रित उच्चस्तरीय फोरम हो भने बेंगलुरु स्किल समिट भविष्यको जनशक्ति तयारी, डिजिटल रूपान्तरण र सीप विकासमा केन्द्रित रणनीतिक कार्यक्रम हो।

नेपालको अग्रणी वित्तीय समाचार प्लेटफर्मका रूपमा बैंकिङ न्यूज नेपालले बैंकिङ सुधार, वित्तीय समावेशीकरण, डिजिटल भुक्तानी, रेमिट्यान्स प्रणाली र नियामकीय आधुनिकीकरणजस्ता विषयमा निरन्तर बहस अघि बढाउँदै आएको छ। ट्रेसकनसँगको साझेदारीले नेपालको बैंकिङ तथा फिनटेक क्षेत्रलाई अन्तर्राष्ट्रिय उद्योग नेतृत्वकर्तासँग जोड्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यस सहकार्यबाट अन्तर्राष्ट्रिय फोरमहरूबाट गहिरो विश्लेषण प्रस्तुत गर्नुका साथै दक्षिण एसिया र मध्यपूर्वबीच ज्ञान आदान–प्रदान र सहकार्यको दायरा विस्तार हुने विश्वास व्यक्त गरिएको छ।