चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेकी छिन्। त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले राजदूत चाङलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन्। साथै, उनले राजदूतले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पु¥याउने महत्त्वपूर्ण भूमिकामा सफल हुने विश्वास व्यक्त गरिन्।

चिनियाँ राजदूत चाङले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने सुनिश्चितता भएको भन्दै बधाइ ज्ञापन गरे। नेपालको यस प्रक्रियामा चीनको साथ र सहयोग रहेको पनि उनले बताए। प्रधानमन्त्री कार्कीले पनि नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा निर्वाचनमा चीनबाट प्राप्त सदासयता र सहयोगका लागि कृतज्ञता ज्ञापन गरे। साथै, विकासका विभिन्न परियोजनामा चीनबाट प्राप्त सहयोग र साझेदारीका अवसरहरुप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार व्यक्त गरे।

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतले दुवै देशका जनताले मनाउँदै आएका चिनियाँ नयाँ वर्षका अवसरमा शुभकामना पनि आदानप्रदान गरे। संस्कृति, भूगोल र ऐतिहासिक सम्बन्धले दुवै मुलुकलाई कसिलोसँग जोडेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको, एक चीन नीति अवलम्बन गर्दै आएको र निकट छिमेकी मुलुकको अहितमा कुनै पनि गतिविधि हुन नदिनेमा पनि सदाझैँ स्पष्ट रहेको बताए।

एउटा मुलुकमा अस्थिरता हुँदा अर्कोमा पनि समस्या हुन सक्ने भन्दै उहाँले क्षेत्रीय शान्ति र स्थायित्वका निम्ति पनि आपसी सहकार्य मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिए। चिनियाँ राजदूतले नेपाल सरकारको नीति र अडानका लागि चिनियाँ जनता र राष्ट्रपतिकातर्फबाट हार्दिक कृतज्ञता ज्ञापन व्यक्त गरे।