धादिङ दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो 


काठमाडौं – धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ। पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नं को उक्त बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो। दुर्घटनामा परि जम्मा १८ जनाको मृत्यु भैसकेको छ। घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो। भने ट्रमा सेन्टरमा उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराई बताउँछन्। 

बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पताल पठाइएको थियो। सडकबाट करिब ३ सय मिटर तल खसेको बस त्रिशूली किनारको ढुंगामा बजारिएर क्षतविक्षत भएको थियो। घाइतेहरु मध्ये १० जना नेशनल अस्पताल कलंकीमा उपचाररत छन्। काठमाडौं कलंकीस्थित नेपाल नेशनल अस्पताल मा ९ पुरुष र १ महिला गरी १० जना घाइते उपचाररत छन्। उनीहरू सबैको अवस्था बोल्न सक्ने रहेको अस्पतालले जनाएको छ। केहीको हात, टाउको, अनुहार, आँखामा चोट लागेको छ भने एक जनाको करङ भाँचिएको छ।

उपचाररत घाइतेहरूमा राजेश कुँवर, सुबिन मल्ल, प्रतिभा पौडेल, चन्द्र आशीष फुँयाल, संगम मल्ल, प्रमिला भट्टराई, डम्मर बहादुर विक, कृष्ण तिवारी, सुनम गुरुङ  र राजेन्द्र बिसुन्के रहेका छन्। साथै, घाइतेहरुमा राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना  उपचाररत छन्, भने  १ जनाको मृत्यु भैसकेको छ। ट्रमा सेन्टरमा उपचाररत १२ जनामध्ये ८ पुरुष र ५ महिला रहेका छन्।

 घाइतेमध्ये २२ वर्षीया चिनियाँ नागरिक मिसि हाउ पनि रहेकी छन्। अन्य घाइतेहरूमा ऐन्जि शेर्पा, सोम प्रसाद मल्ल, बिपिन मानन्धर, पूजा फुयाल, सचिन्द्र सुनार, प्रदिप लामिछाने, नोर्बु पाल्देन, शोर्णिमा खत्री, सलिना परियार, मानबहादुर थापा  र लंसाङ्गोले लामा रहेका छन्।