काठमाडौं – २१ फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएलगत्तै नेपाल राष्ट्र बैंकका दुई उच्च पद रिक्त हुने भएका छन्। नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र आउँदो २५ फागुनमा पाँच वर्षीय कार्यकाल सकाएर अवकाशमा जाँदै छन्।
निर्वाचन आचारसंहिताका कारण वर्तमान सरकारले नियुक्तिको कुनै पनि प्रक्रिया अघि नबढाएको अर्थ मन्त्रालयका अधिकारीहरूले जानकारी दिए। डेपुटी गभर्नर नियुक्तिका लागि अर्थमन्त्री रामेश्वरप्रासद खनालले निर्वाचन आयोगसँग परामर्श पनि गरेका थिए। यद्यपि विवादमा पर्ने जोखिम देखेपछि उनी डेपुटी गभर्नर नियुक्तिमा पछि हटेका हुन्। एक अधिकारीले भने, ‘नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्तिको अघि बढिसकेको प्रक्रियामा त सरकारले चासो दिएन। डेपुटी गभर्नरमा त सम्भावना नै देखिन्न।’
नेपाल राष्ट्र बैंक ऐनअनुसार कार्यकारी निर्देशकहरूमध्येबाट तीन योग्य व्यक्तिलाई गभर्नरले सिफारिस गर्नुपर्छ। तर, राजनीतिक भागबन्डाका कारण पूर्वअर्थमन्त्रीहरूले हस्तक्षेप गर्दै आफूअनुकुल पात्रलाई नियुक्ति प्रस्ताव गर्दै आइरहेका छन्। राष्ट्र बैंकभित्रका विभिन्न महत्त्वपूर्ण विभाग सम्हालिरहेका उच्च अधिकारीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
प्रतिस्पर्धामा रहेका कार्यकारी निर्देशकहरूमध्ये बैंक तथा वित्तीय संस्था नियमन विभागका रामु पौडेल, आर्थिक अनुसन्धान विभागका डा. रामशरण खरेल र बैंक सुपरिवेक्षण विभागका दीर्घबहादुर रावललाई लिएर बढी चर्चा हुन थालेको छ। केन्द्रिय बैंकमा यी तीन विभागलाई महत्वपूर्ण र शक्तिशाली विभागको रुपमा लिइन्छ।
यद्यपि, स्वाभाविक प्रतिस्पर्धामा भने लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागका नरेश शाक्य, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका रेवतीप्रसाद नेपाल, र वित्तीय संस्था सुपरिवेक्षण विभागका विश्रुत थापा छन्। त्यसैगरी गभर्नरको कार्यालयका दयाराम शर्मा, मानव संसाधन व्यवस्थापन विभागका गुरुप्रसाद पौडेल, विदेशी विनिमय व्यवस्थापन विभागका किरण पण्डित, भुक्तानी प्रणाली विभागका डा. सत्येन्द्र तिमिल्सिना र गैरबैंकिङ्ग वित्तीय संस्था सुपरिवेक्षण विभागका चेत प्रसाद उप्रेती पनि दौडमा छन्।
बैंकिङ्ग विभागका रोशन कुमार सिग्देल, मौद्रिक व्यवस्थापन विभागका डा. डिल्लीराम पोखरेल, सूचना प्रविधि विभागका निश्चल अधिकारी र मुद्रा व्यवस्थापन विभागका अनुज दाहाल पनि प्रतिस्पर्धी सूचीमा समावेश छन्।
यस्तै, आन्तरिक लेखा परीक्षण विभागका दीपक राज लमिछाने, कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागका राजन विक्रम थापा र वित्तीय व्यवस्थापन विभागका राजेन्द्र भट्टराई पनि डेपुटी गभर्नर पदका दाबेदार हुन्। डेपुटी गभर्नर पद राष्ट्र बैंकको नीति निर्माण, मौद्रिक व्यवस्थापन, बैंकिङ्ग प्रणालीको निगरानी तथा समष्टिगत आर्थिक स्थायित्वसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पद मानिन्छ। यस पदका लागि हुने छनोट प्रक्रियालाई बैंकभित्र र वित्तीय क्षेत्रमा चासोका साथ हेरिएको छ।



About Us
प्रतिक्रिया