काठमाडौं – सिन्धुलीकी कविता ढकाल यतिबेला सगुन ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल सिजन–३ मा प्रभावशाली उपस्थिति जनाइरहेकी छिन्। कमलामाई नगरपालिका वडा नं. १३, सिन्धुली स्थायी ठेगाना भई हाल काठमाडौंको टोखामा बसोबास गर्दै आएकी कविता ढकाल कन्टेस्टेन्ट नम्बर ५ को रूपमा आफ्नो प्रभावशाली उपस्थिति जनाइरहेकी छन्। उक्त प्रतियोगिता सगुन ज्वेलर्सद्वारा आयोजना गरिएको हो भने इभेन्ट अर्गनाइजरका रूपमा हाउस अफ फेसन नेपाल रहेको छ।
विवाहित महिलाहरूलाई आफ्नो क्षमता, प्रतिभा र व्यक्तित्व प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गर्दै आएको मिसेस भोग नेपालमा यस पटक भौतिक तथा अनलाइन माध्यमबाट अडिसन लिइएको थियो। सयौँ सहभागीहरूमध्ये उत्कृष्ट २२ जना कन्टेस्टेन्टहरू टप फाइनलिस्टका रूपमा प्रतिस्पर्धामा उत्रिएका छन्।
प्रतियोगी कविता ढकाल बहुआयामिक प्रतिभा, सामाजिक प्रतिबद्धता र आत्मविश्वासका कारण उल्लेखनीय प्रतिस्पर्धीमध्ये एकका रूपमा हेरिएकी छन्। प्रतियोगितामा सहभागी हुनुको उनको मुख्य उद्देश्य अटिजम भएका बालबालिकाको अधिकार र भविष्य सुरक्षाको विषयलाई उजागर गर्नु हो। सरकारको तर्फबाट अटिजम भएका बालबालिकाको भविष्य सुरक्षित हुने ग्यारेन्टी गरिनुपर्ने, सबै विद्यालयहरूमा उनीहरूलाई अन्य बालबालिका सरह समान अवसर प्रदान गरिनुपर्ने तथा समाजमा समान व्यवहार गरिनुपर्ने उनको स्पष्ट धारणा छ।
सम्बन्धित क्षेत्रमा सक्रिय सहभागिता जनाउँदै आएकी ढकाल यस प्रतियोगितामा आउनु पूर्व हाडिगाउँस्थित अभानी फाउन्डेशनमा प्रशासन प्रमुखका रूपमा कार्यरत थिइन्। अटिजम भएका बालबालिका र तिनका अभिभावकसँग नजिकबाट काम गर्दै उनले संस्थामा व्यवस्थापन, अनुगमन तथा अभिभावक परामर्श (प्यारेन्ट्स काउन्सिलिङ) मा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्। प्रतियोगिताको तयारीका कारण केही समयका लागि नियमित कार्यबाट विश्राम लिएकी भए पनि सामाजिक सेवाप्रतिको उनको प्रतिबद्धता भने यथावत् रहेको छ। Applied Behaviour Analysis Technician (ABAT) कोर्सको परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेकी उनले व्यवहार विश्लेषणको माध्यमबाट अटिजम भएका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएकी छन्। व्यक्तिगत विकासका विभिन्न आयाममा समेत सक्रिय रहेकी ढकालले होटेल म्यानेजमेन्ट तालिम, मेकअप आर्टिस्टको औपचारिक कोर्स तथा योगा तालिम प्राप्त गरेकी छन्।
उनी दैनिक रूपमा बिहान योगा, जुम्बा र जिममा सक्रिय रहँदै शारीरिक तथा मानसिक सन्तुलनलाई प्राथमिकता दिने गर्छिन्। पारिवारिक दायित्व, पेसागत व्यस्तता र सामाजिक सेवाबीच सन्तुलन कायम गर्दै उनले देखाएको आत्मविश्वास धेरै महिलाका लागि प्रेरणाको स्रोत बन्न सक्ने देखिन्छ। मिसेस भाेग नेपालको यो यात्राले सशक्तीकरण केवल शब्दमा सीमित नभई निरन्तर प्रयास, सिकाइ र सामाजिक जिम्मेवारीको अभ्यासबाट सम्भव हुने सन्देश दिएको छ। यस प्रतियोगिताको फाइनल इभेन्ट यही फागुन १२ गते ललितपुरस्थित म्याजेस्टिक ग्राण्डमा हुँदैछ। प्रतियोगीलाई इसेवा एपको ‘भोटिङ एण्ड इभेन्ट्स’ मेनुमा गई कन्टेस्टेन्ट नम्बर ५ छनोट गरेर वा मोबाइल बैंकिङ्ग एपमार्फत प्रतियोगीको क्युआर कोड स्क्यान गरी भोट गर्न सकिने आयोजकले जनाएको छ।



About Us
प्रतिक्रिया