काठमाडौं – नेपाली कांग्रेसले यही फागुन २१ गते हुने निर्वाचनका लागि शुसासन केन्द्रीत प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। आज राष्ट्रिय सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस चुनावपछि पूर्णरुपमा शुसासनमा केन्द्रीत हुने उद्घोष गरेका हुन्।
उनले प्रतिज्ञापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसले एक व्यक्ती दुई पटक मात्रै प्रधानमन्त्री बन्ने व्यवस्था गर्ने प्रतिज्ञा गरे। यस्तै, मूख्यमन्त्री पदमा समेत एक व्यक्ती बढीमा दुई पटक मात्रै बन्ने व्यस्था अंगिकार गर्ने थापाको भनाई छ।
यतिबेला एक व्यक्ती नै ५–६ पटकसम्म प्रधानमन्त्री बन्ने र सत्तामा पुगेपछि काम नगर्ने परिपाटी छ। जसकारण, सर्वसाधारण सबैजसो राजनीतिक दलसँग पूर्णरुपमा रुष्ट बनेका छन्। धेरै राजनीतिक दल गठबन्धन गर्दै सरकार बनाउने र ढाल्ने प्रवृत्तिका कारणले नेपालको राजनीति नै दूषित बनिरहेको छ।
यही अवस्थालाई हटाउने लक्ष्यसहित कांग्रेसले एक व्यक्ती बढीमा दुई पटक मात्रै प्रधानमन्त्री बन्ने र योभन्दा बढी नबन्ने गरी नीति लिने उद्घोष गरेको हो। यसैगरी, नेपाली कांग्रेसले संघीयताको भारलाई समेत न्यूनिकरण गर्नेगरी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। २०७२ सालमा संविधान बनेयता नेपालमा ७ वटा प्रदेश र ७५३ वटा पालिका छन्।
यस्तै, संघमा समेत २५ वटासम्म मन्त्रालय बनाउने र आपसी भागबन्डामा रमाउने राजनीतिक दलहरुको प्रचलन छ। यो अवस्थालाई हटाउनका लागि नेपाली कांग्रेसले संघमा १६ वटा मात्रै मन्त्रालय बनाउने र खर्च कटौती गर्ने लक्ष्य लिएको छ। यसैगरी, प्रदेशमा ६ वटाभन्दा धेरै मन्त्रालयको व्यवस्था नगर्ने थापाको प्रतिज्ञा छ। हाल नेपाली राजनीतिक दलहरुले गठबन्धन सरकारका लागि प्रदेशमा नै १६–१७ वटासम्म मन्त्रालय कायम गरेका छन्। यही अवस्थालाई हटाउने गरी नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सर्वसाधारणसँग प्रतिज्ञा गर्दै घोषणापत्र सार्वजनिक गरेको हो।



About Us
प्रतिक्रिया