काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। मूल्यले नयाँ उचाइ छोएसँगै देशभर सुन चोरीका घटनामा उल्लेखनीय वृद्धि भएको प्रहरी तथ्यांकले देखाएको छ। पछिल्ला केही महिनायता सुनको मूल्य तीव्र गतिमा बढ्दै तीन लाख रुपैयाँ नाघेको छ। गत माघ १५ गते सुनको भाउ तोलाको तीन लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो। मूल्यमा भएको यस तीव्र वृद्धिसँगै सुनचाँदीका गरगहना लक्षित गरी हुने चोरी तथा लुटपाटका घटना बढ्दै गएको प्रहरी अधिकारीहरू बताउँछन्।
प्रहरीका अनुसार घरमा सञ्चित गरिएका गहना चोरी हुने घटनामा खास वृद्धि देखिएको छ। उच्च मूल्यका कारण घरमा राखिएका गरगहना अपराधीको निशानामा पर्न थालेका छन्। यसैबीच, घर तथा कार्यालय सुरक्षाका लागि सिसिटिभी क्यामेरा, अलार्म प्रणालीलगायत प्रविधिको प्रयोग प्रभावकारी देखिएको प्रहरीको भनाइ छ। सिसिटिभी जडान भएका स्थानमा अन्य स्थानको तुलनामा चोरीका घटना कम हुने गरेको तथ्यांकले देखाएको छ। प्रहरी प्रशासनले नागरिकलाई बहुमूल्य गरगहना सुरक्षित स्थानमा राख्न र सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।
त्यस्तै, जिल्ला प्रहरी प्ररिसर काठमाडौंले दुई वटा चोरीका घटनामा गोली नै चलाएर चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। २१ माघ राति प्रहरीले नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई नियन्त्रणमा लिएको थियो। पक्राउ गर्ने क्रममा प्रहरीले गोली नै प्रहार गर्नुपरेको थियो। उनी २० गते बौद्धस्थित रिन्जी लामाको घरबाट एक करोड चार लाख ५३ हजार रुपैयाँ बराबरका सुनका गहना चोरी गरी फरार भएका थिए। उनीमाथि ६५ तोला सुनका गरगहना चोरी गरेको आरोप छ।
प्रहरीका अनुसार पाँचतले घरका परिवारका सदस्यहरू छतमा बसिरहेका बेला चौथो तलाको कोठाको ढोकाको कब्जा फोडी चोरी गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार चौधरीविरुद्ध भदौयता चोरीसम्बन्धी नौ वटा मुद्दा दर्ता भइसकेका छन्। उनीबाट करिब तीन करोड रुपैयाँ बराबरको सम्पत्ति बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी एक्लै चोरी गर्न जाने गर्थे। राति स्थानको निगरानी गर्ने र दिउँसो चोरी गर्ने शैली अपनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीमाथि ८८ तोला सुन, ९९ तोला चाँदी, २६ लाख रुपैयाँ नगद र दुई तोला हीरासमेत गरी करिब तीन करोड बराबरको चोरीमा संलग्न रहेको उजुरी प्राप्त भएको छ। हाल उनी उपचाररत रहेकाले विस्तृत बयान लिन बाँकी रहेको प्रहरीले जनाएको छ।
यसअघि पनि काठमाडौं प्रहरीले गोली प्रहार गरी १० जना लुटेरालाई पक्राउ गरेको थियो। उनीहरू दिनभर ट्याक्सी चलाउने र राति तीन–तीन जनाको समूहमा मोटरसाइकल प्रयोग गरी बाटोमा हिँडिरहेका व्यक्तिहरूको गरगहना लुट्ने गरेको खुलेको थियो। सार्वजनिक स्थान र सडकमा हिँड्ने सर्वसाधारण उनीहरूको मुख्य लक्ष्य हुने गरेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार कात्तिकदेखि पुससम्म सुन चोरीका उजुरीमा निरन्तर वृद्धि भएको देखिन्छ। कात्तिकमा २६९ वटा, मंसिरमा ३०० वटा र पुसमा ३७४ वटा चोरीका घटना दर्ता भएका छन्। पक्राउ पर्ने संख्यामा पनि वृद्धि भएको छ। कात्तिकमा ३९२, मंसिरमा ४८६ र पुसमा ५४४ जना पक्राउ परेका छन्।
यस अवधिमा सुनको मूल्यमा आएको तीव्र वृद्धिलाई पनि एक कारणका रूपमा हेरिएको छ। कात्तिक २ गते तोलाको दुई लाख ५३ हजार २०० रुपैयाँ रहेको सुन माघ १५ गते तीन लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रविण धितालका अनुसार बैंकहरूले लकर सेवा उपलब्ध गराए पनि धेरैले बहुमूल्य गहना घरमै राख्ने प्रवृत्तिका कारण जोखिम बढेको छ।

‘लकर सेवा प्रयोग गरेमा चोरीका घटना न्यूनीकरण हुन सक्छ,’ उनले भने । उनका अनुसार सीसीटिभी, डिजिटल लक, अलार्म प्रणालीजस्ता सुरक्षा उपायको पर्याप्त प्रयोग नहुँदा पनि चोरी बढिरहेको छ। साथै, सामाजिक सञ्जालमा यात्रा वा घर खाली हुने जानकारी सार्वजनिक गर्ने प्रवृत्तिले अपराधीलाई सहज बनाएको उनले बताए ।‘घर छाड्दा सुरक्षा सतर्कता अपनाउन, सीसीटिभी जडान गर्न, छिमेकीसँग समन्वय राख्न र सामाजिक सञ्जालमा व्यक्तिगत गतिविधि सार्वजनिक गर्दा सावधानी अपनाउनुपर्छ,’ प्रवक्ता धितालको सुझाव छ । प्रहरीले नागरिक सचेत भएमा यस्ता घटनामा कमी आउने विश्वास व्यक्त गरेको छ।



About Us
प्रतिक्रिया