उपत्यकामा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी अधिकृत पुरस्कृत


काठमाडौं – उपत्यकामा हुने विभिन्न किसिमका विरोध, प्रदर्शन, बन्द–हडताल, मेला–पर्व तथा खेलकुद कार्यक्रमलगायतका गतिविधिहरूको प्रभावकारी व्यवस्थापन तथा नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने तीन जना प्रहरी अधिकृत पुरस्कृत भएका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकन गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौं मा कार्यरत प्रहरी उपरीक्षक पवन कुमार भट्टराई र प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीलाई रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो।

त्यसैगरी, प्रहरी वृत्त सिंहदरबार, काठमाडौंलाई ३१७५.१९ वर्ग मिटर जग्गा स्थायी रूपमा उपयोग गर्ने व्यवस्था मिलाउन तथा पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सोही वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरे लाई समेत सम्मान गरिएको छ। कार्यालयका अनुसार यस्ता पुरस्कारले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रेरणा र मनोबल वृद्धि गर्ने विश्वास लिइएको छ। 

उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने परम्पराले सङ्गठनभित्र व्यावसायिकता, जिम्मेवारी र सेवाप्रति प्रतिबद्धता अझ सुदृढ हुने अपेक्षा गरिएको छ।