वैदेशिक रोजगारीका नाममा ठगीको जालो, युवाको बाध्यतामाथि ठगको साम्राज्य


काठमाडौं – वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटना भयावह बन्दै गएका छन्। चालु आर्थिक वर्ष ०८२/८३ मा हालसम्म मात्रै २ हजार ५६१ उजुरी दर्ता भएका छन् भने ९ करोड ४७ लाख रुपैयाँभन्दा बढी ठगी भएको सरकारी तथ्यांकले देखाएको छ। विदेश जाने युवाको बढ्दो लहरसँगै ठगी गर्ने गिरोहहरू पनि सक्रिय बन्दै गएको पाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनहुँ जसो वैदेशिक रोजगारीका लागि बिदेसिने नेपालीहरूको घुइँचो हुने गर्छ। अमेरिका, अस्ट्रेलिया, जापान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, कुवेत, बहराइन, ओमानलगायतका देशमा गएर पैसा कमाउने उद्देश्यले युवाहरू बिदेसिने प्रवृत्ति बढ्दो क्रममा छ।

स्वदेशमा रोजगारीका अवसर सीमित हुनु, बढ्दो बेरोजगारी र आर्थिक संकटका कारण विशेष गरी युवा वर्ग बिदेसिन बाध्य छन्। तर, यही बाध्यतालाई अवसरका रूपमा प्रयोग गर्दै ठगहरूको जालो पनि फैलिँदै गएको छ। कतिपय ठगहरूले युवालाई वैदेशिक रोजगारीमा पठाउँछु भन्दै विश्वासमा पारेर विदेश नपठाई फरार हुने गर्छन्। केहीले एउटा काम भनी अर्कै काममा पठाउने, बढी तलबको आस देखाएर कम तलब हुने ठाउँमा पठाउने गरेका घटनाहरू प्रहरीमा आउने गरेका छन्। केहीले आवेदन दिने क्रममा नै ठगी भएको थाहा पाउँछन् भने धेरैले विदेश पुगेपछि मात्रै आफू ठगिएको जानकारी पाउँछन्।

विदेश पुगेपछि काम सुरु गरेपछि कतिपयले रोजगारदाताबाट सम्झौतामा भनिएको रकमअनुसार तलब पाउने गरेका छन्। तर केहीले भने एउटा कामका लागि भनेर पठाइए पनि काम सुरु भएपछि अर्कै काममा लगाइने वा अन्य अतिरिक्त शुल्क तिर्न बाध्य पारिने घटना देखिएका छन्।

वैदेशिक रोजगारीका नाममा ठगीका घटना पछिल्लो समय बढेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीको भनाइ छ। उनकाअनुसार कार्यालयमा विदेश पठाइदिन्छु भन्दै रकम लिएर नपठाउने घटनाका उजुरीहरू बढी आउने गरेका छन्। प्रायः यस्ता उजुरीहरू वैदेशिक रोजगार विभागमा जाने गर्छन्। विभागबाट आएको पक्राउ पुर्जीका आधारमा प्रहरीले यस्ता ठगहरूलाई पक्राउ गर्ने गरेको छ।

उनका अनुसार अहिले विदेश जाने लहर नै भएकाले वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटना पनि बढिरहेका छन्। विशेष गरी गाउँघरका सामान्य परिवारका सोझा सर्वसाधारणहरू यस्ता ठगहरूको जालमा पर्ने गरेका छन्। वैदेशिक रोजगारसम्बन्धी कानुनी प्रक्रिया, म्यानपावर कम्पनीको वैधता, सम्झौता पत्र आदिबारे पर्याप्त जानकारी नहुँदा उनीहरू सजिलै भ्रममा पर्छन्।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा ‘छिटो विदेश जान पाइने’ र ‘धेरै कमाइ हुने’ जस्ता आश्वासनले उनीहरूलाई झन् आकर्षित गर्छ। उनले भने, ‘वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्नेहरूले विदेशी कम्पनीहरूसँग पनि मिलेर ठगी गर्ने गर्छन्। बाहिरका कम्पनीसँग यहाँका कम्पनी मिलेर नक्कली कागजात देखाएर सर्वसाधारणलाई झुक्क्याउने गर्छन्।’

घटनाका एक पात्र हुन् रामबहादुर (परिवर्तित नाम)। परिवार धान्न गाह्रो भएपछि उनका दुई जना मिल्ने साथीहरूले जापान जाने योजना बनाए। जापान पुगेपछि राम्रो कमाइ हुने आशमा उनीहरू काठमाडौंको न्युरोडस्थित एक एजेन्टको कार्यालयमा पुगे। जापान गएर पैसा कमाई घरको ऋण तिर्न र परिवारको जीवनस्तर उकास्ने सपना बोकेर उनीहरू एजेन्टकहाँ पुगेका थिए। एजेन्टले मीठा कुरा गर्दै जापानको आकर्षक तलब, सुविधा र सुरक्षित भविष्यका सपना देखायो। ‘तीन महिनाभित्र उडान हुन्छ’ भन्यो। उसको आत्मविश्वासपूर्ण बोली र ठूलाठूला आश्वासनले उनीहरू उसको विश्वासमा परे।

विदेश जाने रहरमा उनीहरूले आफन्त र साथीभाइसँग ऋण मागे। कसैले सुन धितो राखे, कसैले खेतबारी बन्धक राखे। धेरै दुःख गरेर ठुलो रकम जम्मा गरी एजेन्टलाई बुझाए। रकम बुझाउँदा एजेन्टले केही कागजपत्रमा हस्ताक्षर गरायो र छिट्टै प्रक्रिया अगाडि बढ्ने आश्वासन दियो। तर समय बित्दै गयो। एक महिना, दुई महिना, तीन महिना पनि पूरा भयो। एजेन्टले कहिले मेडिकल रिपोर्ट नपुगेको भन्यो, कहिले नयाँ कागजात चाहियो भन्यो, कहिले जापानबाट कोटा नआएको बहाना बनायो।

उनीहरू प्रत्येक पटक नयाँ आशामा पर्खिरहे। चार महिनापछि जब उनीहरू एजेन्टको कार्यालय पुगे, ढोका बन्द थियो। आसपासमा सोध्दा त्यहाँ उभिएका अन्य व्यक्तिहरू पनि एजेन्टबाट ठगिएका रहेछन्। त्यसपछि उनीहरूले एजेन्टलाई बारम्बार खोज्ने प्रयास गरे। तर उसको फोन बन्द थियो, ठेगाना गलत थियो। एजेन्ट फरार भइसकेको थियो।

विदेशमा आकर्षक तलब, सहज काम र उज्ज्वल भविष्यको सपना देखाउँदै ठगहरूले लाखौँ रुपैयाँ असुल्ने घटना दिनहुँ जसो सार्वजनिक भइरहेका छन्। प्रहरीका अनुसार वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गिरोहहरू सक्रिय छन्। पछिल्लो समय यस्ता गिरोहका सदस्यहरू पक्राउ पर्ने क्रम पनि बढ्दो छ। तर पक्राउ परेका केही व्यक्ति मात्र समस्या समाधानको पर्याप्त उपाय होइनन्। यस्ता ठगीका घटना निरन्तर बढिरहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माघ २७ मा बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने महोत्तरीका जटाधर राउतलाई पक्राउ गरेको थियो। उनले पाँच जनालाई बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ८० लाख रुपैयाँ ठगी गरेका थिए। साथै, गत भदौ ५ मा प्रहरीले कोरिया पठाइदिन्छु भन्दै १ करोड ८ लाख रुपैयाँ ठगी गर्ने ताप्लेजुङका सहारा सुब्बालाई पक्राउ गरेको थियो। 

उनले त्यस बेलासम्म नौ जना पीडितलाई कोरिया पठाइदिन्छु भन्दै १ करोड ८ लाख रुपैयाँ ठगी गरेको खुलेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी भएको भन्दै कार्यालयमा दैनिक चारदेखि पाँच वटा उजुरी आउने गरेका छन्। अन्य प्रहरी कार्यालयहरूमा पनि यस्ता उजुरी आउने गरेका छन्। विदेश जाने अधिकांश युवाहरूले परिवारको आर्थिक अवस्था सुधार्ने, ऋण तिर्ने र घरपरिवारको भविष्य सुरक्षित गर्ने उद्देश्य राखेका हुन्छन्। गाउँघरमा जमिन धितो राखेर वा ऋण काढेर उनीहरूले एजेन्टलाई रकम बुझाउँछन्।

तर, कतिपय अवस्थामा भिसा नआउने, नक्कली कागजात बनाइने वा सम्झौताभन्दा फरक काम र तलब पाउने समस्या देखिन्छ। धेरैजसो पीडितहरू आर्थिक, मानसिक र सामाजिक रूपमा ठूलो मारमा पर्छन्। पहिले व्यक्तिगत एजेन्टमार्फत हुने ठगी अहिले सामाजिक सञ्जाल, अनलाइन विज्ञापन र नक्कली म्यानपावर कम्पनीमार्फत हुन थालेको छ।

आकर्षक तलब, कम शुल्क र छिटो प्रक्रिया भन्ने लोभ देखाएर सर्वसाधारणलाई झुक्याइन्छ। कतिपयले सरकारी प्रक्रिया पूरा नगरी पर्यटक भिसामा पठाउनेसम्मका काम गर्छन्। देशको सक्रिय जनशक्ति विदेशिँदा राष्ट्रले ठूलो क्षति बेहोर्नुपरेको छ। तर स्वदेशमा पर्याप्त रोजगारी सिर्जना नहुँदासम्म विदेश जाने क्रम रोकिने सम्भावना न्यून देखिन्छ।

यस्तो अवस्थामा विदेश गएर धेरै सम्पत्ति कमाउने युवाको सपनामाथि ठगहरूले खेलवाड गर्ने घटना बढेका छन्। पछिल्लो समय बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक अभियुक्त पक्राउ परेका थिए। त्यस्तै, कोरिया पठाइदिन्छु भन्दै १ करोड ८ लाख रुपैयाँ असुली गर्ने अर्को व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

वैदेशिक रोजगार विभागअन्तर्गत मुद्दा तथा अनुसन्धान शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा ४ हजार ९७४ उजुरी दर्ता भएका थिए, जसमा ३२ करोड ८७ लाख ३७ हजार रुपैयाँ ठगी भएको थियो। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा २ हजार ९१६ उजुरी दर्ता हुँदा २४ करोड ४९ लाख रुपैयाँ ठगी भएको थियो।