बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा ९ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक, माग्यो प्रस्ताव


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकहरुको मुद्धति निक्षेपमा ९ अर्ब ३५ करोड लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न बैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत प्रस्ताव माग गरेको छ । केन्द्रीय बैंकले ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाएर यही फागुन १० गतेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ ।

राष्ट्र बैंकले कूल लगानी योग्य रकम ९ अर्ब ३५ करोडमा वाणिज्य बैंकका लागी ७ अर्ब ४८ करोड, राष्ट्रिय स्तरका विकास बैंकका लागी १ अर्ब ४० करोड २५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीका लागी ४६ करोड ७५ लाख छुट्याएको छ । मुद्धति निक्षेपमा पैसा लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र राष्ट्र बैंकले तोकेको न्यूनतम कुल पुँजीकोष कायम गरेको हुनुपर्ने उल्लेख छ ।

यस्तै, निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खूद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, बैंकले समय समयमा निर्धारण गरे बमोजिमको खूद तरल सम्पत्ति अनुपात कायम गरेको, कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाव अनुसार खुद मुनाफामा रहेको, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।