भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण


काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। मन्त्रालयका सचिव केशवकुमार शर्मा र यातायात व्यवस्था विभागका महानिर्देशक डा विजय जैसीसहितको टोलीले आज उक्त खण्डको स्थलगत निरीक्षण गरेको हो।

मन्त्री चौलागाईँले वर्षा सुरु हुनुअघि निर्माणलाई तीव्रता दिई स्तरोन्नति सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएकाे मन्त्रालयले जनाएको छ। सडकको दुरावस्थाका कारण जनताले भोग्दै आएका सास्तीप्रति चिन्ता व्यक्त गर्दै उनले जतिसक्दो छिटो काम सम्पन्न गर्न आग्रह गरे।

मन्त्री चौलागाईँले पश्चिम नेपाललाई जोड्ने यो महत्त्वपूर्ण सडकखण्डको आवागमन सहज बनाउन समयमै निर्माण पूरा गर्न आवश्यक तदारुकतामा जोड दिए। निरीक्षणका क्रममा उनले चिनियाँ ठेकेदार, कोरियन कन्सल्ट्यान्ट, साइट म्यानेजर तथा इन्जिनियरहरूसँग छलफल गर्दै आवश्यक सहजीकरण र प्रगति अनुगमनलाई प्रभावकारी बनाइने बताए। सो अवसरमा हाल उक्त सडकखण्डको ८० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको र बाँकी काम छिट्टै पूरा गरिने जानकारी दिइएको थियो।