काठमाडौं – नेपाल धितोपत्र बोर्डले १ फागुन (आज शुक्रबार)बाट ब्रोकरबाट मार्जिन सुविधा लिन पाउने व्यवस्था लागू गरेपनि तत्कालै यो सुविधा लिन भने नपाइने भएको छ। धितोपत्र बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिक कारोबारका लागि योग्य ब्रोकरहरूको सूची सार्वजनिक नगरेसम्म यो सुविधा कार्यान्वयनमा नआउने भएको हो।
आइतबारसम्म सार्वजनिक बिदा रहेकाले सोमबार वा मंगलबार मार्जिक कारोबारका लागि योग्य ब्रोकरहरूको सूची सार्वजनिक गर्ने तयारी रहेको नेप्सेले जानकारी दिएको छ। यसअघि नेप्से कारोबारयोग्य ब्रोकरहरूको सूची तयार पारेको थियो। यो स्टक डिलरका लागि कारोबारयोग्य ब्रोकरहरूको सूची रहेको नेप्सेले स्पष्ट पारेको छ।
मार्जिन कारोवार सुविधा प्रदान गर्ने ब्रोकर व्यवसायीको योग्यतामा चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको र निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको शेयरधनी रहेको वा सहायक कम्पनीको रुपमा रहेका धितोपत्र दलाल व्यवसायीको मुख्य कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेको हुनुपर्ने उल्लेख छ।
योग्यता पुगेका ब्रोकरले मार्जिन कारोवार सुविधा प्राप्त गर्न लगानीकर्ताका लागि धितोपत्र दलाल व्यसायीमार्फत् छुट्टै मार्जिन कारोवार खाता र मार्जिन कारोवार हितग्राही खाता खोल्न पाउने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै, ब्रोकरले राफसाफ प्रयोजनका लागि केन्द्रीय निक्षेप कम्पनीमा मार्जिन कारोवार राफसाफ हितग्राही खाता खोल्नुपर्नेछ।
मार्जिन कारोबारमा बैंक र ब्रोकरबीच प्रतिस्पर्धा हुने
ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा कार्यान्वयन भएपछि ब्रोकरले पनि बैंकसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। यसका लागि ब्रोकरहरूले आफ्नो स्वःपुँजी लगानी गर्न सक्ने छन्। नपुगेको अवस्थामा ब्रोकर आफैले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर पनि लगानी गर्न सक्ने छन्। सामान्य अर्थमा मार्जिन कर्जा लगानीमा ब्रोकरले लघुवित्त जसरी काम गर्नुपर्ने हुन्छ। ब्रोकर र बैंकबीच प्रतिस्पर्धा हुने भएकाले ब्याजदरमा पनि प्रतिस्पर्धा हुने छ।
त्यसैले ब्रोकरले सक्दो सस्तो ब्याजदर कायम राख्नका लागि स्वःपुँजीकै उपयोग गर्नु उपयुक्त हुने जानकारहरू बताउँछन्। अहिले वाणिज्य बैंकहरूले दिने मार्जिक कर्जामा औषत भारित कर्जाको ब्याजदर ७.१ प्रतिशत छ। ब्रोकरले दिने कर्जामा ब्याजदर पनि ग्राहकसँगको आपसी समझदारीमै हुने भएकाले तिव्र प्रतिस्पर्धा हुने देखिन्छ।



About Us
प्रतिक्रिया