काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रतिष्ठानले खेलेको भूमिका सराहनीय छ भने।
उनले नेपाल प्रहरीले विभिन्न कालखण्डमा सामना गरेका सुरक्षा चुनौती, राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र प्रशासनिक सुधारका हरेक चरणमा प्रतिष्ठानले समयानुकूल दक्ष, सक्षम, गुणस्तरीय तथा अनुशासित जनशक्ति उत्पादनमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए। प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको आधारशीला भनेकै अनुशासन र तालिम रहेको र त्यो आधारशिलालाई मजबुत बनाउन प्रतिष्ठानले विगत सात दशकदेखि दिँदै आएको योगदान स्मरणीय रहेको बताए।
उनले बदलिँदो सुरक्षा चुनौती, प्रविधिको तीव्र विकासलगायतमा आएको परिवर्तन र अपराधका नयाँ–नयाँ स्वरूपलाई मध्यनजर गर्दै प्रतिष्ठानले तालिम प्रणाली र तालिम प्रदान गर्ने शैलीमा गर्दै आएको समय सापेक्ष परिमार्जनको प्रयास सराहनीय रहेको बताए। प्रहरी महानिरीक्षक कार्कीले प्रहरी तालिमको प्रभावकारिता अभिवृद्धिसँगै प्रहरी सेवाप्रति जनविश्वास बढाउन पनि गुणस्तरीय तालिम अपरिहार्य रहेको उल्लेख गर्दै अनुशासन र सेवाभावलाई प्रहरीको उदाहरणीय पहिचान बनाउनेकार्यमा प्रतिष्ठानको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए।
प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले प्रतिष्ठानको गरीमा, विशिष्टता र व्यावसायिकतालाई अक्षुण्य राख्न प्रतिष्ठान परिवार सदैव कटिबद्ध रहेको बताए। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरीको प्रशिक्षणलगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने अवकाश प्राप्त प्रहरी निरीक्षक ठागाप्रसाद चौधरीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरे।
उनले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा सञ्चालन गरी दक्ष एवम् व्यावसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनीय योगदान पु¥याई सर्वोत्कृष्ट तालिम केन्द्र बन्न सफल नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापालाई सर्वोत्कृष्ट तालिम केन्द्रको रनिङ शिल्ड सहित प्रशंसापत्र प्रदान गरे। सो अवसरमा उनले प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा–२०८२’को लोकार्पण गरेका थिए।



About Us
प्रतिक्रिया