विदेशी पर्यटकसँगै गुनासा पनि बढ्दै, ठमेल र लेक साइड बन्यो पर्यटक ठगीको ‘हटस्पट’


काठमाडौं – ठमेलको साँझ। क्यामेरा झुन्ड्याएका दुई विदेशी पर्यटक हतारिँदै पर्यटक प्रहरीको कक्षमा छिर्छन्। ट्याक्सी चालकले तोकिएकोभन्दा तीन गुणा भाडा लिएको गुनासो उनीहरूको थियो। यस्ता दृश्य पछिल्ला वर्षहरूमा सामान्य बन्दै गएका छन्। पर्यटन प्रहरीको तथ्यांकले पनि नेपाल घुम्न आउने पर्यटकको संख्या बढेसँगै उजुरीको चाप निरन्तर उकालो लागेको देखाएको छ। करिब ९० भन्दा बढी मुलुकका पर्यटकले यहाँ समस्या लिएर ढोका ढकढक्याउने गरेका छन्। उजुरी दिनेमा भारतीय, चिनियाँ र अमेरिकी नागरिक शीर्ष स्थानमा छन्। यी मुलुकका पर्यटकहरूले कुल उजुरीको करिब ६० प्रतिशत हिस्सा ओगट्छन्।

पर्यटन प्रहरी कार्यालयका अनुसार पर्यटक प्रहरीमा करिब ९० वटा मुलुकबाट नेपाल आएका पर्यटकहरू विभिन्न समस्या लिएर उजुरी दर्ता गराउन आउने गर्छन्। नेपालमा सबैभन्दा बढी पर्यटक भारत, चीन, अमेरिका, बङ्गलादेश, अस्ट्रेलिया, थाइल्यान्ड, बेलायत, म्यानमार, मलेसिया लगायतका मुलुकबाट आउने गरेको छ। पर्यटक प्रहरीमा आउने उजुरीमध्ये करिब ६० प्रतिशत उजुरी यी देशका पर्यटकबाट आउने गरेका छन्।

त्यस्तै, अघिल्ला वर्षहरूको तुलनामा उजुरी लिएर प्रहरीसमक्ष पुग्ने पर्यटकको संख्या मात्र होइन, उजुरी दिने देशहरूको संख्या पनि क्रमशः बढ्दै गएको छ। पर्यटन प्रहरीका अनुसार पर्यटकहरूले मुख्य रूपमा ठगी, चोरी, सामान हराउने, होटल तथा ट्राभल एजेन्सीसँग सम्बन्धित विवाद, ट्याक्सी तथा यातायात भाडामा असहमति, गाइड तथा ट्रेकिङ एजेन्सीसँगको समस्या लगायतका विषयमा उजुरी दिने गरेका छन्।

विशेषगरी पर्यटकीय सिजनमा यस्ता उजुरीको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको पर्यटन प्रहरी बताउँछन्। ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड लगायतका क्षेत्रमा पर्यटकको चहलपहल बढी हुने भएकाले त्यहाँबाट उजुरीको संख्या पनि तुलनात्मक रूपमा धेरै देखिएको पर्यटक प्रहरी भृकुटीमण्डप मिनादेवी राई बताउँछिन्। पर्यटक प्रहरीको कार्यलयमा पर्यटकको नेपालीले लाखौँ रकम ठगी गरेको र नेपालीको पर्यटकका लाखौँ ठगीका गरेका घटनादेखि ठगी र चोरी अपहण नै नभई पनि उजुरी दिन आउने गरेको उनी बताउँछिन्।

विशेषगरी हिमाली भेगको अनुपम दृश्य अवलोकन गर्न धेरै पर्यटक दुर्गम क्षेत्रमा पदयात्रा र भ्रमणमा जाने गछन्। तर यस्ता दुर्गम स्थानमा पूर्वाधारको अभावका कारण विभिन्न चुनौतीहरू सामना गर्नुपरेको देखिएको छ। हिमाली तथा उच्च पहाडी क्षेत्रका कतिपय स्थानमा मोबाइल नेटवर्कको समस्या, विद्युत् आपूर्तिको अभावका कारण मोबाइलको ब्याट्री सकिनु, अप्ठ्यारो र जोखिमपूर्ण बाटो, साथै लेक लाग्ने (उच्च स्थानमा अक्सिजनको कमी हुने समस्या) जस्ता समस्या बारम्बार देखिने गरेका छन्।
यी कारणले विशेषगरी एक्लै भ्रमणमा निस्कने पर्यटकहरू बढी जोखिममा पर्ने गरेका छन्।

त्यसैले गर्दा पर्यटक प्रहरीले उनीहरूका आफ्न्तले उजुरी गर्न साथ तिव्र रुपमा खोजी कार्य गर्ने गरको प्रवक्ता राई बताउँछन्। कुनै अवस्थामा घरबाट प्रेम अस्विकारदेखि अन्य विभिन्न कराणले नेपाल आएका पर्यटकहरूले परिवारसँग सम्पर्क राख्न नचाहेको अवस्थामा पनि उनीहरूका अफ्न्तले हराएको भन्दै उजुरी गर्ने गरेको राई बताउँछन्।

प्रहरीले कार्यलयमा आउने गरेका उजुरीहरूको प्ररम्भिक अनुसन्धान गरी ठुला अपराधका घटनाको प्रारम्भिक अनुसन्धान र विवरण संकलनपछि मुद्दाको प्रकृतिअनुसार सम्बन्धित जिल्ला प्रहरी परिसर, महानगरीय प्रहरी वृत्त वा स्थानीय प्रहरी बिटमा जिम्मा लगाइन्छ। उनका अनुसार सामान्य घटनाहरूमा दुई पक्षलाई बोलाएर मिलाएर पठाएने गरिएको छ। यसले अनुसन्धान प्रक्रिया छिटो र प्रभावकारी बनाउन सहयोग पुगेको बताइएको छ। साथै, पर्यटकहरूले नेपाल आएर ठगी कार्यमा संलग्न भएको गोप्य सुचना पाउन साथ उनीहरूको खोजी गरी पक्राउ गरेर अनुसन्धान गर्छ। गत आर्थिक वर्ष (आव) २०८१/८२ मा नेपालमा ११ लाख ४७ हजार ८३४ पर्यटक भित्रिएका थिए। सोही आर्थिक वर्षमा ४ सय ६३ जना पर्यटकले प्रहरीमा उजुरी दिएका थिए ।

आपराधिक क्रियाकलापका घटना
पर्यटन प्रहरीले सार्वजनिक गरेको तथ्यांक पर्यटकहरूले दर्ता गराएका उजुरीको मात्र विवरण हो। तर नेपाल आएर विदेशी नागरिक स्वयं अवैध गतिविधिमा संलग्न भएका घटनासम्बन्धी उजुरीहरू भने अन्य प्रहरी कार्यालयहरूमा समेत दर्ता हुने गरेका छन्।यसै सन्दर्भमा, जिल्ला प्रहरी परिसर काठमाडौंले गत २० माघमा पाँच बंगलादेशी, एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूले इटाली पठाइदिने प्रलोभन देखाएर पाँच बंगलादेशी नागरिकलाई काठमाडौं बोलाई अपहरण गरेको अनुसन्धानबाट खुलेको छ। काठमाडौंका एसपी पवन भट्टराईका अनुसार बुढानीलकण्ठको भंगालस्थित एक घरबाट ती पाँच बंगलादेशीको उद्धार गरिएको थियो। घटनामा संलग्न व्यक्तिहरूमाथि शरीर बन्धक तथा ठगी मुद्दामा कारबाही अघि बढाइएको छ। युरोप पठाइदिने भन्दै नेपाल ल्याएर बन्धक बनाई फिरौती मागिएको सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो। सरोकारवालाका अनुसार पछिल्ला वर्षहरूमा केही विदेशी नागरिक नेपालमा आएर क्रिप्टोकरेन्सी कारोबार, लुटपाट, नक्कली नोट कारोबार, ठगी तथा चोरीजस्ता अपराधमा समेत संलग्न हुने क्रम देखिन थालेको छ। यस्ता घटनाले पर्यटन सुरक्षासँगै अध्यागमन र कानुनी निगरानी थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

पर्यटक प्रहरीमा चुलिँदो उजुरीको चाङ
पर्यटक प्रहरीको तथ्यांकअनुसार आव २०७८/७९ मा विभिन्न देशका गरी १८० उजुरी दर्ता भएका थिए । तीमध्ये २८ भारतीय, २४ अमेरिकी, १७ बेलायती, १३ फ्रान्सेली र १० जर्मन नागरिकका उजुरी बढी थिए। उक्त वर्ष सबैभन्दा धेरै उजुरी वैशाख महिनामा आएको थियो। आव २०७९/८० मा उजुरीको संख्या ह्वात्तै बढेर ५३२ पुग्यो। त्यस वर्ष ७० भारतीय, ६५ चिनियाँ, ४६ अमेरिकी, ४१ बेलायती, २६ अस्ट्रेलियाली, २८ फ्रान्सेली र २० जर्मन नागरिकका उजुरी परेका थिए। सबैभन्दा बढी उजुरी चैत महिनामा दर्ता भएको थियो।

त्यस्तै, आव २०८०/८१ मा कुल ४३६ उजुरी दर्ता भए। यस अवधिमा ७२ चिनियाँ, ७० भारतीय, ६२ बंगलादेशी, ३५ अमेरिकी, २४ अस्ट्रेलियाली, २४ फ्रान्सेली, २० बेलायती र १७ जर्मन नागरिकका उजुरी उल्लेख्य रहे। उक्त वर्ष पनि उजुरीको चाप चैतमा सबैभन्दा धेरै देखियो। आव २०८१/८२ मा बंगलादेशी नागरिकका उजुरी उल्लेखनीय रूपमा बढ्दै १०६ पुगे। सो वर्ष ७७ चिनियाँ, ४० भारतीय, २८ अमेरिकी, २२ अस्ट्रेलियाली, १७ बेलायती, १३ फ्रान्सेली र १२ डच (नेदरल्याण्ड्स) नागरिकसहित विभिन्न मुलुकबाट गरी ४३६ उजुरी परेका थिए। यस वर्ष उजुरीको उच्च बिन्दु वैशाखमा रह्यो। चालु आव २०८२/८३ मा हालसम्म २५३ उजुरी दर्ता भएका छन्। यसमा ४५ चिनियाँ, ३७ बंगलादेशी, ३५ भारतीय, १९ अमेरिकी र ९ अस्ट्रेलियाली नागरिक अग्रस्थानमा छन्। पछिल्ला चार वर्षको प्रवृत्तिले उजुरीको संख्या मात्र होइन, उजुरी गर्ने मुलुकको दायरा पनि क्रमशः विस्तार हुँदै गएको देखाउँछ।