नेपाल मेडिसिटीलाई ‘एक्सिलेन्स इन रिमोट हेल्थकेयर’ अवार्ड


काठमाडौं – नेपाल मेडिसिटी अस्पतालले भारतको हैदराबादमा आयोजित द इन्टरनेशनल हेल्थ डायलोगमा ‘एक्सिलेन्स इन रिमोट हेल्थ केयर’ अवार्ड प्राप्त गरेको छ। प्रविधिमैत्री र दूरदराजसम्म स्वास्थ्य सेवा विस्तारमा गरेको उल्लेखनीय योगदानको कदरस्वरूप अस्पताललाई उक्त सम्मान प्रदान गरिएको हो।

डिजिटल नवप्रवर्तन, टेलिमेडिसिन तथा स्मार्ट हेल्थकेयर प्रणालीको प्रभावकारी प्रयोगमार्फत भौतिक सीमाभन्दा बाहिर पनि गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सफल भएको भन्दै नेपाल मेडिसिटीको नेतृत्वलाई अन्तर्राष्ट्रिय मञ्चबाट सम्मान गरिएको हो।
उक्त कार्यक्रममा नेपाल मेडिसिटीको प्रतिनिधित्व अस्पतालका प्रमुख सूचना अधिकृत सुधाकर राईले गरेका थिए।

हालै सीएचआईएमई इन्टरनेशनलबाट प्रदान गरिने प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरिसकेका राईको नेतृत्वले स्वास्थ्य सूचना प्रविधि क्षेत्रमा नेपाल मेडिसिटीलाई नयाँ उचाइमा पुर्‍याएको अस्पतालले जनाएको छ। यो अन्तर्राष्ट्रिय मान्यताले डिजिटल हेल्थ, दूरस्वास्थ्य सेवा तथा बिरामी–केन्द्रित प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा प्रवाहलाई रूपान्तरण गर्ने नेपाल मेडिसिटीको प्रतिबद्धतालाई थप बल दिएको छ। अस्पतालले आगामी दिनमा पनि प्रविधि र नवप्रवर्तनको सहायताले पहुँचयोग्य, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।