मार्जिन कारोबार सम्बन्धी निर्देशिका बोर्डद्वारा स्वीकृत, कहिलेदेखि हुन्छ लागू ?


काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ बमोजिम मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२ स्वीकृत गरेको छ। बोर्डले मार्जिन कारोबार सम्बन्धी निर्देशन, २०७४ खारेज गर्दै स्वीकृत भएको नयाँ निर्देशिका फागुन १ गतेदेखि लागू गर्ने निर्णय गरेको हो।

निर्देशिकामा मार्जिन कारोबारका लागि योग्य शेयर सम्बन्धी प्रावधान राखिएको छ। जसअन्तर्गत कम्तीमा २५ लाख कित्ता सर्वसाधारण शेयर (लकइन भएका शेयर बाहेक) सूचीकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको, प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत निष्कासन भएको शेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको संगठित संस्थाले मात्रै यस्तो कारोबार गर्न पाउनेछन्।

त्यस्तै, मार्जिन कारोबार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यता पनि उल्लेख गरिएको छ। जसमा चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको शेयरधनी रहेको वा सहायक कम्पनीको रूपमा रहेका धितोपत्र दलाल व्यवसायीको मुख्य कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेको धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा पाउनेछन्। 

धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछ । धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्य वा सम्बद्ध संस्थालाई मार्जिन सुविधा प्रदान गर्दा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्न सक्ने कुल मार्जिन सुविधाको बढीमा १० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने छैन।

त्यस्तै, धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अन्तर्गत खरिद गरेको अनुसूची–१ बमोजिमको विवरण कारोबार भएको भोलिपल्ट धितोपत्र बजारलाई उपलब्ध गराउनुपर्नेछ र हरेक महिनाको अन्त्यमा अनुसूची–१ बमोजिमको मासिक विवरण बोर्डसमक्ष पेस गर्नुपर्नेछ।