सीआईबी हुँ भन्दै ६० लाख ठग्ने हवल्दारसहित चार जना पक्राउ 


काठमाडौं –  सीआईबी हुँ भन्दै ६० लाख ठग्ने  हवल्दारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार, काभ्रेका दीपक आले मगर, रसुवाका बिक्रम तामाङ र २८ वर्षीय जीवन तामाङ रहेका छन्। 

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरु काठमाडौं महानगरपालिका– १४ स्थित घ्याङ्खेलमा बोलाई सस्तो मूल्यमा बिलसहितको सुन दिन्छु भन्ने प्रलोभनमा पारी नगद ६० लाख ल्याउन लगाई ८–९ जनाको समूहले पिडितलाई नियन्त्रणमा लिई कुटपिट तथा लुटपाट गरी फरार भएका थिए। उनीहरु साथबाट प्रहरीले नगद ९ लाख ४२ हजार, मोबाइल ५ थान, मोटरसाइकल ३ थान, विभिन्न मोबाइलमा प्रयोग गरेको सिम कार्ड १३ थान, बरामद गरेको छ। 

उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।