काठमाडौं – नेपाल घुम्न आउने विदेशी पर्यटकहरूको भरोसाको केन्द्र हो, पर्यटक प्रहरी। तर पछिल्ला वर्षमा यही कार्यालयमा अपहरण, व्यक्ति हराएको, चोरी तथा ठगीका उजुरीको चाङ लाग्न थालेको छ। नेपाल प्रहरीअन्तर्गतको पर्यटक प्रहरीमा अपहरण, व्यक्ति हराएको, चोरी तथा ठगीलगायतका उजुरी लिएर पर्यटकहरू दैनिक जसो पुग्ने गर्छन्। तर रोचक पक्ष के भने, प्रहरीका अनुसार कतिपय उजुरी वास्तविक घटनासँग सम्बन्धित हुँदैनन्। अपहरण, चोरी वा ठगी भन्दै दर्ता भएका केही निवेदन अनुसन्धानपछि फरक प्रकृतिका ठहरिने गरेका छन्।
दुबई–१ (परिवर्तित नाम)
यस्तै, घटनाकी एक पात्र हुन् दुबई–१ (परिवर्तित नाम)। परिवारको कडा नियन्त्रणमा बस्न नचाहेर उनी १८ वर्ष पुगेको भोलिपल्टै कसैलाई जानकारी नदिई नेपाल आएकी थिइन्। दुबईको सम्पन्न परिवारमा हुर्केकी उनलाई स्वतन्त्र जीवन जिउने चाहनाले नेपाल तानेको थियो। घरबाट धेरै रकम नलिई हिँडेकी उनी सम्पर्कविहीन भएपछि परिवारले खोजी सुरु गर्याे। अनुसन्धानका क्रममा उनी नेपाल आएको खुलेपछि परिवारले नेपाल प्रहरीसँग सहयोग माग्यो।
खोजीका क्रममा भारत बस्ने एक जना काका समेत उनलाई घर फर्काउन नेपाल आए। लामो अनुसन्धानपछि प्रहरीले उनलाई पोखराको एक होटेलमा काम गरिरहेको अवस्थामा फेला पार्याे। प्रहरी र परिवारसँगको संवादमा उनले आफ्नो इच्छाले नेपाल आएको र पारिवारिक दबाबमा फर्किन नचाहेको बताइन्। यो घटना अपहरण नभई पारिवारिक असमझदारीसँग सम्बन्धित भएको पुष्टि भयो।
पाकिस्तानी–१ (परिवर्तित नाम)
त्यसैगरी, वास्तविक अपराधका घटना पनि पर्यटक प्रहरीसम्म पुग्ने गरेका छन्। पाकिस्तानी–१ (परिवर्तित नाम) त्यसको उदाहरण हुन्। इन्टरनेटमार्फत भारतीय नागरिकसँग सम्पर्कमा आएका उनलाई क्यानडा पठाइदिने प्रलोभन दिइयो। उनी नेपाल आएपछि काठमाडौंको एक होटेलमा भेट गराइयो र पछि कोठामा लगेर बन्धक बनाई कुटपिट गरियो। अपराधीहरूले उनलाई जबरजस्ती परिवारसँग पैसा माग्न लगाएका थिए। रकम पाएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा छाडिएको थियो।
नेपाल घुम्न आउने पर्यटकहरू पासपोर्ट, मोबाइल तथा अन्य सामान हराएको, चोरी, ठगी र लुटपाटका उजुरी लिएर कार्यालय पुग्ने क्रम बढ्दो छ। ठमेलको गल्लीमा हराएको पासपोर्ट खोज्दै आउनेदेखि मोबाइल हराएको निवेदन बोकेर आउने पर्यटक धेरै हुने गरेको पर्यटक प्रहरी भृकुटीमण्डपकी प्रवक्ता मिनादेवी राई बताउँछिन्। उनका अनुसार सबै उजुरी वास्तविक चोरीका हुँदैनन्। कतिपय पर्यटकले सामान बिर्सेर छाड्ने, पुरानो सामान फाल्ने र पछि बीमा दाबी गर्न प्रहरी प्रतिवेदन आवश्यक पर्ने भएकाले चोरीको उजुरी दिने गरेका छन्। ‘बीमा रकम दाबी गर्न रिपोर्ट चाहिने भएकाले यस्ता निवेदन आउने गरेका छन्,’ राई भन्छिन्।

विश्वका ९० भन्दा बढी मुलुकका नागरिक नेपालका हिमशृङ्खला र सांस्कृतिक सम्पदा अवलोकन गर्न आउने गर्छन्। पछिल्ला पाँच वर्षमा पर्यटक प्रहरीले १ हजार ९६८ वटा उजुरी दर्ता गरेको छ। ठमेल, भृकुटीमण्डप र पोखरास्थित कार्यालयमा सबैभन्दा बढी निवेदन पर्ने गरेको प्रहरीको तथ्यांक छ। सबैभन्दा धेरै उजुरी आर्थिक वर्ष २०७९/८० मा ५३२ वटा दर्ता भएका थिए। गत आर्थिक वर्ष २०८१/८२ मा ४३६ वटा उजुरी परेका छन्, जसमा ५ वटा व्यक्ति हराएको सम्बन्धी थिए।
तर, तीमध्ये केही पारिवारिक असहमति वा विवाह गरेर सम्पर्कबाहिर बसेका घटनासँग जोडिएको हुनसक्ने प्रहरीको अनुमान छ। कतिपय पर्यटकले आफूसँग रकम सकिएपछि उद्दारको आशमा चोरी वा ठगीको झुटो उजुरी दिने गरेको अनुभव प्रहरीसँग छ। यस्ता व्यवहारले साच्चिकै अपराधमा परेका पर्यटकको अनुसन्धानमा समेत असर पुग्ने गरेको अधिकारीहरू बताउँछन्।
तथ्यांक अनुसार सामान हराएको उजुरी सबैभन्दा धेरै छन्। गत वर्ष मात्रै ३८६ वटा यस्ता निवेदन दर्ता भएका थिए। आर्थिक वर्ष २०७७/७८ मा ७९, २०७८/७९ मा १८०, २०७९/८० मा ५३२, २०८०/८१ मा ४८८, २०८१/८२ मा ४३६ र चालु आव २०८२/८३ को हालसम्म २५३ वटा उजुरी परेको प्रहरीको विवरण छ। प्रवक्ता राईका अनुसार उजुरी प्राप्त भएपछि तत्काल दर्ता गरी दुवै पक्षबीच छलफल, अनुसन्धान र समाधानको प्रक्रिया अघि बढाइन्छ। ‘पर्यटकको सुरक्षा र विश्वास कायम राख्नु हाम्रो मुख्य दायित्व हो,’ उनी भन्छिन्।



About Us
प्रतिक्रिया