नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू वर्षको ६ महिनाको अवधिमा नेपालमा १० खर्ब ६२ अर्ब रेमिट्यान्स भित्रिएको छ। यस्तै, पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षभरिमा १७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालू वर्षमा २० खर्बभन्दा धेरै भित्रिने आँकलन गर्न थालिएको छ। जसले नेपालको वैदेशिक मुद्राको सञ्चिति ३२ खर्ब ४२ अर्ब नाघेको छ। पछिल्ला ३ वर्षमा नेपालमा रेमिट्यान्स आप्रवाह उल्लेख्यरुपमा बढिरहेको देखिन्छ। नेपालमा बढ्दो रेमिट्यान्सलाई राष्ट्रिय विकासमा लगाउने सम्भावनाको खोजी लगायतका विषयमा केन्द्रित रहेर नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष रितेश मित्तलसँग गरिएकाे कुराकानीको सम्पादित अंश:–
तथ्यांकअनुसार विगतको वर्षहरूको तुलनामा रेमिट्यान्स आप्रवाह बढेको छ। गत वर्षमा १७ खर्बभन्दा बढी भित्रिएको थियो भने यो वर्षको ६ महिनामा १० खर्बभन्दा बढी भित्रिएको छ। यसरी रेमिट्यान्स बढ्नुको मुख्य कारण केलाई मान्न सकिन्छ ?
युवाहरूमा एउटा ट्रेन्ड देखिइरहेको छ। उच्च शिक्षा लिने र अध्ययनका लागि विदेश गएपछि उतै ‘सेटल’ हुने प्रचलन छ। यस्तै, नेपालमा अवसर नपाएपछि रोजगारीका लागि विदेश जाने प्रचलन छ। यसकारण, रेमिट्यान्स बढ्दो अवस्थामा छ। यसबाहेक, नेपालमा ‘डिजिटल रेमिट्यान्स’ बढ्दो छ। कोभिड महामारीपछि विश्वव्यापीरुपमा यो प्रचलन देखिन्छ।
यसले अनौपचारिक रेमिट्यान्स आप्रवाह घट्दै औपचारिकरुपमा रेमिट्यान्स बढ्दो छ। धेरै देशमा नेपाली श्रमिकलाई कम्पनीहरूले सिधै बैंक खातामा तलब दिन थालेका छन् र नेपालीहरूले डिजिटलरुपमा नै रेमिट्यान्स पठाउन थालेका छन्। यस कारण पनि तथ्यांकमा धेरै रेमिट्यान्स आउन थालेको छ।

योबाहेक, यतिबेला नेपालीहरू सिप सिकेर दक्ष बनेर विदेश जान थालेका छन्। जसकारण, पाउने पारिश्रमिक पनि बढ्छ र रेमिट्यान्समा त्यसको प्रभाव देखिएको हुन सक्ने सम्भावना कति छ ?
यो पनि मुख्य कारण हो। विगत २ दशकदेखि रेमिट्यान्स क्षेत्रमा आबद्ध छु। विगतमा न्यून तहमा रोजगारीका लागि जाने श्रमिक धेरै थिए भने यतिबेला पढेलेखेका र सिपयुक्त जनशक्ति बाहिरिन थालेका छन्। उनीहरूको पारिश्रमिक समेत उच्च हुन्छ। यसले प्रतिव्यक्ति रेमिट्यान्स आप्रवाह पनि बढेको छ।
गत वर्ष १७ खर्ब रेमिट्यान्स भित्र्याएका थियौँ। चालू वर्षको ६ महिनामा १० खर्ब नाघिसकेको छ। यो वर्ष अघिल्लो वर्षको रेकर्ड तोडिन्छ ?
यो वर्ष गत वर्षको १७ खर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाहको रेकर्ड तोडिन सक्छ। अहिलेकै गतिमा रेमिट्यान्स आइरहेमा यो वर्ष २० खर्ब रेमिट्यान्स भित्रिन सक्छ वा योभन्दा पनि बढी आउन सक्छ। यसबाहेक, अनौपचारिकरुपमा भित्रिने रेमिट्यान्सको हिस्सा घटेको देख्न सकिन्छ। डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने प्रचलन बढ्दा अनौपचारिक माध्यम खस्किएको छ। यसबाहेक, औपचारिकरुपमा रेमिट्यान्स पठाउँदा १ प्रतिशत बढी ब्याज र आईपीओमा संरक्षण लगायतले पनि औपचारिकरुपमा रेमिट्यान्स भित्रिनका लागि प्रोत्साहन भएको हुन सक्छ।
अनौपचारिक क्षेत्रको कुरा गरौँ। अहिले नेपालमा कति वटा देशबाट रेमिट्यान्स भित्रिँदै आइरहेको छ र तीमध्ये सबैभन्दा धेरै अनौपचारिक माध्यम कुन–कुन देशमा छन् ?
नेपालमा विश्वका १०० भन्दा धेरै देशबाट रेमिट्यान्स भित्रिरहेको छ। जसमध्ये अधिकांश मुलुकबाट डिजिटल रेमिट्यान्स आइरहेको छ। यस्तै, धेरैजसो मुलुकबाट औपचारिकरुपमा नेपालमा रेमिट्यान्स आइरहेको छ। तर, केही मुलुकमा अनौपचारिकमाध्यम अत्यधिक छ। जस्तै, संयुक्त अरब इमिरेट्स (युएई), दक्षिण कोरिया, अष्ट्रेलिया, हङकङ र जापानहरू यसका उदाहरण हुन्।

यी देशबाट अनौपचारिकमाध्यमबाट नेपालमा रेमिट्यान्स भित्रिनुको मुख्य कारण के जस्तो लाग्छ ? हामीले वित्तीय सचेतना फैलाउन सकेनौँ वा राज्यले ध्यान नदिएर हो ?
यी देशहरूमा जाने नेपालीहरू वित्तीयरुपमा साक्षर नै छन्। तर, त्यहाँको सरकारले अनौपचारिक प्रणालीलाई नियन्त्रण नगरेर हो। सटहीमा प्रतिडलर २/३ रुपैयाँसम्म बढी दिन्छन्। जसकारण, श्रमिकहरूले थोरै लाभका लागि अनौपचारिक माध्यम वा हुन्डी रोज्छन्।
तर, वैदेशिक रोजगारीमा पुगेका नेपालीहरूले उताबाट रेमिट्यान्स पठाएको ‘हिस्ट्री’ नहुँदा नेपाल फर्केपछि बैंकिङ्ग कर्जा तथा अन्य कारोबारमा समस्या पर्दैन र ?
अनौपचारिकमाध्यमबाट नेपालमा रेमिट्यान्स पठाउँदा नेपाल फर्केपछि समस्या पर्न सक्छ। उनीहरूको बैंक खातामा रेमिट्यान्स आप्रवाहको गतिविधि देखिँदैन। जसकारण, भावी दिनमा बैंकबाट कर्जा लिन समस्या हुन्छ नै। तर, यसको न्यूनीकरणका लागि एसोसिएसनबाट मात्रै सम्भव छैन। यसका लागि राज्य लाग्नुपर्छ। केही समयअघि हामीले श्रम स्वीकृति गर्नुअघि वैद्य माध्यमबाट रेमिट्यान्स पठाएको नदेखिएमा नवीकरण नगर्ने व्यवस्था गर्न माग गरेका थियौँ। तर, यो कार्यान्वयन हुन सकेको छैन।

नेपालीहरूको संख्याका आधारमा दक्षिण कोरिया, जापान र यूएईमा धेरै छन्। यस आधारमा यूएईबाट त धेरै रेमिट्यान्स भित्रिनुपर्ने हो। कस्तो छ स्थिति ?
यूएईबाट वैद्य माध्यमबाट रेमिट्यान्स धेरै भित्रिँदैन। किनकि, यूएईभन्दा धेरै अमेरिका, साउदी अरेबिया र कतार जस्ता मुलुकबाट रेमिट्यान्स भित्रिन्छ। नेपालमा रेमिट्यान्स भित्रिने ट्रेन्ड हेर्दा यूएईमा अवैध माध्यमबाट रेमिट्यान्स धेरै नेपालमा आउँछ।



About Us
प्रतिक्रिया