सार्वजनिक स्थानका नेटवर्क प्रयोग गरी डिजिटल कारोबार गर्दा सचेत रहन केन्द्रीय बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानका नेटवर्क प्रयोग गरी डिजिटल कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै डिजिटल बैंकिङ्गका लागि आवश्यक सतर्कता अपनाउन भनेको हो ।

डिजिटल बैंकिङ्ग कारोबारको लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि असुरक्षित नेटवर्क प्रयोग गर्दा तपाईंको बैंकिङ्ग विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ । यस्ता नेटवर्कमा विभिन्न ह्याकर र वित्तीय अपराधीहरूसमेत जोडिएका हुन सक्छन् जसले तपाईंको महत्वपूर्ण वित्तीय विवरणमा पहुँच पुऱ्याई सोको दुरूपयोग गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । ‘आफ्नो व्यक्तिगत तथा बैंकिङ्ग विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्कमार्फत मात्र अनलाइन बैंकिङ्ग कारोबार गर्नुपर्दछ’ केन्द्रीय बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

यस्तै, अनलाइन बैंकिङ्ग कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी, कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्ने बताएको छ ।