अबदेखि बीमा सेवामा हुलाक टिकट टाँस्न नपर्ने


काठमाडौं – नेपाल बीमा प्राधिकरणले हुलाक टिकट टाँस्न नपर्ने व्यवस्था लागू गर्न निर्देशन जारी गरेको छ। प्राधिकरणले सबै बीमा कम्पनी र दलाल मध्यस्तकर्तालाई सेवा प्रवाहको प्रकृयामा कागजातको आधिकारिकताको लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउन निर्देशन दिएको हो।

प्राधिकरणले मन्त्रीपरिष‌द्बाट मिति २०८२।०८।२९ मा प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक अन्य सेवामा हुलाक टिकट टाँस्न नपर्ने बताएको हो।

प्राधिकरण तथा बीमकहरुबाट प्रदान हुने सेवा प्रवाहको प्रक्रियामा प्रचलित कानूनमा किटानी व्यवस्था भएकोमा बाहेक कागजातको आधिकारिकताको लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने प्रचलन तथा अभ्यास हटाउने व्यवस्था लागू भएको प्राधिकरणले उल्लेख गरेको छ।