आईसीसी टी-२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने


काठमाडौं – कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा देखाउने भएको छ।

‘क्रिकेट फिएस्टा’ नाम दिइएको यो विशेष कार्यक्रम काठमाडौंको टुँडिखेल र तीनकुनेमा आयोजना हुनेछ। यसमा विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन्। निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रमले प्रत्यक्ष क्रिकेट खेलको रोमाञ्चक अनुभवसमेत प्रदान गर्नेछ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रमले प्रत्यक्ष क्रिकेट खेलसँगै सांगीतिक मनोरञ्जन र विभिन्न अन्तरक्रियात्मक ब्रान्ड गतिविधिहरूको अनुभव प्रदान गर्नेछ। टुँडिखेलमा फेब्रुअरी ८ र १२, २०२६ मा तथा तीनकुनेमा पनि सोही अवधिमा स्क्रिनिङ कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम स्थलको गेट दिउँसो १ः०० बजे खुल्नेछ भने खेलको प्रत्यक्ष प्रसारण दिउँसो ३ः०० बजेदेखि सुरु हुनेछ।

खेल सुरु हुनुअघि महेश काफ्ले र अस्मिता अधिकारीको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहने छ। जसले खेलको उत्सवमय माहोल तयार पार्नेछ। यस कार्यक्रमले क्रिकेटप्रेमीहरूलाई केवल खेलको स्क्रिनिङ मात्र नभई थप रोमाञ्चक अनुभव पनि प्रदान गर्नेछ। साथै, कार्यक्रम स्थलभरि विभिन्न रमाइला ब्रान्ड गतिविधि तथा खेलहरूमा सहभागी भई दर्शकहरूले अन्तरक्रियात्मक र उत्साहपूर्ण वातावरणको अनुभव गर्न सक्नेछन्।

यसैगरी, कोका–कोला नेपालले क्रिकेटप्रेमीहरूका लागि आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपालका खेलहरू भि आई पी जोनबाट हेर्न सकिने विशेष पास जित्ने अवसर पनि प्रदान गरेको छ। यी विशेष पास जित्न इच्छुक व्यक्तिहरूले कोका–कोला नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत प्रतियोगितासम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन्।