गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२’शुभारम्भ 


काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी व्यवस्थापन र परिचालन – विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक दुई दिवसीय ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२’ शुभारम्भ भएको छ। गृहमन्त्री अर्यालले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्घाटन गरेका हुन् । 

समारोहमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयद्वारा शोध अनुसन्धान गरी प्रकाशित गरिएका नेपालमा सामाजिक सञ्जालको प्रयोग र साइबर अपराधबीच अन्तर सम्बन्ध सम्बन्धी अध्ययन, नेपाल प्रहरीमा विद्यमान पोशाकको प्रयोग तथा परिमार्जन सम्बन्धी अध्ययन तथा ट्राफिक प्रहरी कर्मचारीको कार्यबोझ, सेवा प्रवाह, आचरण एवम् व्यवहार सम्बन्धी अध्ययन गरी तीन वटा अध्ययन प्रतिवेदनहरू सार्वजनीकिकरण गरे । 

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपाल प्रहरीले आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयमहरूको बारेमा नागरिक समाजका प्रभुत्व व्यक्तिहरू, सुरक्षा विज्ञहरू लगायत समाजका विभिन्न तप्काका प्रतिनिधिहरूसँग रणनीतिक अन्तरक्रिया गर्नुलाई अत्यन्तै सकारात्मक पहलको रूपमा लिएको चर्चा गर्दै यस सम्मेलनको पूर्ण सफलताको कामना समेत गरे । प्रहरी सेवाका नीति निर्माणका प्रक्रिया एवम् जनअपेक्षा अनुरूपको प्रहरी सेवाको स्वरूप र भविष्य कस्तो हुनुपर्छ भन्ने विषयमा नागरिक तहको सार्थक सहभागिता र अपनत्व भएमा मात्र त्यस्ता योजनाहरू स्वीकार्य र व्यवहारिक कार्यान्वयन हुन सक्ने उनले बताए । 

समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै नेपालको संविधान, प्रहरी ऐन तथा प्रचलित कानुन अनुरूप शान्ति सुव्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी एवम् व्यावसायिक प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी सदैव कटिबद्ध रहेको बताए। सङ्घीय शासन प्रणालीको कार्यान्वयन सँगै नेपाल प्रहरीको भूमिका, दायित्व र कार्यक्षेत्र बहु आयामिक बन्दै गएको तथा यस्तो परिवर्तित समय सन्दर्भमा सङ्गठनात्मक क्षमता, रणनीतिक सोच, प्रविधिको प्रयोग र अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउनु अहिलेको आवश्यकता र प्राथमिकता रहेको उनले बताए। 

प्रहरी महानिरीक्षक कार्कीले प्रविधिको तीव्र विकास, डिजिटल सुरक्षा जोखिम, जलवायु परिवर्तन जन्य विपद् तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरूले प्रहरी सेवाको नीति र कार्यशैलीमा नवीन, व्यवहारिक र उत्तरदायी दृष्टिकोण अपनाउनु पर्ने आवश्यकता देखिएको उल्लेख गर्दै त्यसका लागि प्रहरीले हेर्ने दृष्टिकोण मात्र पर्याप्त नभई विषय विज्ञ, आम जनसमुदायहरूको परामर्श र दृष्टिकोण समेत आवश्यक रहेकोले यो सम्मेलनको आयोजना गरिएको बताए ।

सम्मेलनको अवधिमा हुने बहु आयामिक छलफल, अनुभवको आदानप्रदान, बौद्धिक तथा तार्किक बहस, विचार, विमर्श तथा राय सुझावले नेपाल प्रहरीको दीर्घकालीन योजना, रणनीतिक लक्ष्य र समय सापेक्ष कार्ययोजना निर्माणमा मूर्त आधार तयार गरी नेपाल प्रहरीको रणनीतिक योजना र कार्ययोजनाहरू निर्माणमा स्पष्ट मार्गदर्शन गर्ने उनले बताए।