काठमाडौं – शेर्पा समुदायको सबैभन्दा प्रतिष्ठित तथा लोकप्रिय फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप–२०२६ को १५औँ संस्करण शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिता ललितपुरस्थित सातदोबाटोको एन्फा फुटबल मैदानमा आयोजना भइरहेको छ। शेर्पा समुदायको नयाँ वर्ष ल्होसारको अवसर पारेर आयोजना हुँदै आएको यो प्रतियोगिता समुदायभित्र दीर्घकालीन खेलकुद परम्पराका रूपमा स्थापित भइसकेको छ। यस वर्षको प्रतियोगिता महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम, फाराकको आयोजनामा भइरहेको छ।

कार्यक्रमको उद्घाटन अवतारी गुरु क्याब्जे त्रुल्शिक रिन्पोछेले गरेका हुन्। उद्घाटन खेलमा आयोजक महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम, फाराक र खुन्दे कम्युनिटी क्लबबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेल १–१ गोलको बराबरीमा सकिएको छ, जससँगै साताव्यापी प्रतियोगिताको औपचारिक सुरुवात भएको हो। उद्घाटन समारोहका क्रममा हेली एभरेस्ट प्रा.लि. को हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने लोकप्रिय गायक राजु लामाले लाइभ सांगीतिक प्रस्तुति दिएका थिए।

महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरमका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार खुम्बु ल्होसार कपको सुरुवात सन् २००९ मा खुम्बु पासाङ ल्हामु गाउँपालिकाअन्तर्गतका विभिन्न गाउँका शेर्पा युवाहरूको पहलमा गरिएको हो। जाडो यामको अफ–सिजनमा युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने तथा फुटबलको विकास गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको उनले बताए। उनका अनुसार प्रतियोगिताले प्रतिस्पर्धात्मक फुटबल संस्कृतिको विकास गर्नुका साथै नयाँ खेलाडी पहिचान गर्न र शेर्पा समुदायबीचको एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
आयोजकका अनुसार प्रतियोगिता केवल फुटबलमा सीमित नभई खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसँग पनि जोडिएको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिकाभित्रका विभिन्न समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्न पनि यसले योगदान पुर्याउँदै आएको छ। यस वर्षको खुम्बु ल्होसार कपमा आठ टिम सहभागी छन्। प्रतियोगितामा महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम, फाराक; नाम्चे युथ ग्रुप, नाम्चे; खुम्जुङ युथ क्लब, खुम्जुङ; खुन्दे कम्युनिटी क्लब, खुन्दे; थामिचोवा फुटबल क्लब, थामे; आमादब्लाम युथ ग्रुप, पाङ्बोचे; खुम्बु याम्बु शेर्पा समाज तथा खुम्बु युनाइटेड सहभागी रहेका छन्। प्रतियोगिताको विजेता टिमले रु १ लाख ५० हजार, उपविजेताले रु ८० हजार र तेस्रो हुने टिमले रु ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। खुम्बु ल्होसार कप–२०२६ का लागि १४ पिक्स एक्सपेडिसन प्रा.लि. लाई शीर्ष प्रायोजक घोषणा गरिएको छ। त्यसैगरी हेली एभरेस्ट प्रा.लि. र खुम्बु पासाङ ल्हामु गाउँपालिका सह–प्रायोजक रहेका छन् भने अन्य विभिन्न संघ–संस्थाहरूले पनि प्रतियोगितालाई सहयोग गरिरहेका छन्।



About Us
प्रतिक्रिया