फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सुपर खुदी हाइड्रोपावर


काठमाडौं – आगामी फागुन ४ गतेदेखि सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ पश्चात् अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ दरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ५५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। साथै,७७ हजार ५०० कित्ता शेयर कम्पनीले सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।

कम्पनीले अब दोस्रो चरणमा कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको प्रतिशेयर कित्ता १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। सर्वसाधारणले सो आईपीओमा न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओको निष्काशन बन्द छिटोमा फागुन १० गते हुनेछ भने ढिलोमा फागुन १९ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।