जेनजी आन्दोलनमा लुटिएका हतियार र फरार कैदीले चुनावमा सुरक्षा चुनौती, प्रहरीका हतियारधारीद्वारा निर्वाचन प्रभावित हुने डर


काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनमा प्रहरीबाट लुटिएका हातहतियार पूर्णरुपमा बरामद हुन नसक्दा चुनावको मुखमा चुनौती थपिएको छ। प्रहरीबाट लुटिएका हतियार र आन्दोलनको मौका छोपेर भागेका कैदी बन्दीका कारण यही फागुन २१ गतेको चुनाव चुनौतीपूर्ण बनेको हो।

प्रहरीका अनुसार आन्दोलनका क्रममा अराजक समूहले ११ सयभन्दा बढी हतियार लुटेका थिए। आन्दोलनका क्रममा लुटिएका मध्ये ७० प्रतिशत हातहतियार बरामद भैसकेको छन्, भने ३० प्रतिशत अझैँ बरामद भैसकेका छैनन्। प्रहरीका अनुसार अझैँ ३ सय हातहतियार बरामद भएको छैन।

साथै, आन्दोलनका क्रममा देशभर २८ भन्दा बढी कारागारका कैदी, थुनुवा र बाल सुधार गृहका बालबालिका गरी कुल १४ हजार ५ सय ५५ जना फरार भएका थिए। अझै ४ हजार ३६५ कैदी बन्दी फरार नै छन्। यी दुई कारणले यस पटकको संवेदनशील अवस्थामा हुन लागेको चुनाव थप जोखिमपूर्ण र चुनौतीपूर्ण बनाउँदै लगेको छ।

२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा फरार कैदी बन्दी र लुटिएका हतियारधारी व्यक्तिहरूलाई सुरक्षा चुनौतीका रूपमा औँल्याइएको छ । आन्दोलनको क्रममा लुटिएका तथा हराएका हातहतियार तथा असवाव लगायतका सामाग्रीबाट हुन सक्ने सम्भावित खतरालाई निस्तेज गर्न लुटिएका हातहतियारको पहिचान र बरामद गर्न नेपाल प्रहरीले विशेष टोली निर्माण गरी परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्ले बताउँछन्।

जेनजी आन्दोलनमा फरार भएका अपराधीहरूमा पनि अझै केही अपराधीहरू कारागार बाहिर नै छन्। आन्दोलनका क्रममा फरार भएका कैदी र लुटिएका हतियार अझै बाहिर नै हुँदा आगामी गर्दा निर्वाचन सुरक्षामा चुनौती बढ्न सक्ने सरोकारवाला बताउँछन्। प्रहरीका अनुसार लुटिएका हतियार र फरार व्यक्तिहरू सक्रिय अवस्थामा रहेमा चुनावी अभियान, मतदान केन्द्र र मतगणनामा जोखिम बढ्न सक्ने देखिन्छ।

नेपालका सुरक्षा निकायहरूले निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर गाउँ–गाउँका प्रहरी कार्यालय, प्रभाग बिटहरूका प्रहरीहरूलाई सुरक्षा व्यवस्थापनका योजना बनाइसकेको उनी बताउँछन्। भदौ २३ र २४ मा जेनजी प्रदर्शन चर्किँदै गएपछि केन्द्रीय कारागार, नख्खु कारागार, बाँके, रौतहट, सिन्धुली, चितवन, मकवानपुर, कपिलवस्तु, कास्की, तनहुँ, कैलाली, कञ्चनपुर, नवलपरासी, सुनसरी, दाङ, महोत्तरीसहितका २८ कारागार र ९ बाल सुधार गृहमा पनि तोडफोड र आगजनी भएका थिए।

यही कारण, निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरीले नियमित गस्तीको साथसाथै सूचना संकलन, खतरा मूल्याङ्कन सहितको विश्लेषण तथा प्रवाहलाई प्रभावकारी बनाउने कार्य गरिरहेको उनी बताउँछन्। सीमा क्षेत्रमा हुने घुसपैठ र आपराधिक क्रियाकलाप नियन्त्रण गर्नको लागि नियमित अनुगमन तथा प्रभावकारी रूपमा प्रहरी परिचालित छन्।

उनी भन्छन्, ‘आन्दोलनको क्रममा लुटिएका तथा हराएका हातहतियार बरामदको साथै कारागारबाट फरार कैदीबन्दी एवम् हिरासतबाट फरार रहेका थुनुवाहरूलाई पक्राउ गर्न प्रहरीले ७ वटै प्रदेशमा विशेष अभियान सञ्चालन गरेको छ।’ निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गराउन देखा पर्न सक्ने सम्भावित चुनौतीहरूको पहिचान र त्यस्ता चुनौतीहरूको सामना गर्न प्रहरी कटिबद्ध रहेको उनले बताए।

हाल सम्म लामो दुरीको गस्ती १ हजार १ सय ३६ पटक र सानो दुरीको गस्ती ३ लाख ८९ हजार ९ सय ६० पटक गरिएको छ। यी गस्तीमा १३ लाख ४६ हजार ३ सय २८ जनशक्ति परिचालित गरिएको छ। निर्वाचनको विषयलाई लिएर हुन सक्ने तोडफोड, आगजनी जस्ता क्रियाकलाप नियन्त्रण गर्न दिनानुदिन प्रहरीले गस्तीलाई अझ प्रभावकारी रूपमा वृद्धि गर्दै आइरहेको छ।

भदौ २४ गतेका हिंसात्मक आन्दोलनका क्रममा देशभर २८ भन्दा बढी कारागारका कैदी, थुनुवा र बालसुधार गृहका बाल बिज्याईकर्ता गरी कुल १४ हजार ५ सय ५५ जना फरार भएका थिए। अब जेनजी आन्दोलनमा फरार भएका ४ हजार ३६५ केदीहरु पक्राउ पर्न बाकीँ नै रहेको प्रहरीले जनाएको छ।

प्रहरीको तंथ्याक अनुसार जेनजी आन्दोलनमा उपत्यकाबाट ५ हजार ८० जना, कोशी प्रदेशबाट २ हजार ८५ जना, मधेस प्रदेशबाट १ हजार १११ जना, बागमती प्रदेशबाट १ हजार ८१९ जना, गण्डकी प्रदेशबाट १ हजार ३०३ जना, लुम्बिनी प्रदेशबाट १ हजार ५ सय ६९ जना, कर्णाली प्रदेशबाट १२९ जना र सुदूरपश्चिम प्रदेशबाट १ हजार ४ सय ५७ जना फरार भएका थियो।

जसमा अब उपत्यकाबाट १ हजार ८७९ जना, कोशी प्रदेशबाट ४७१ जना, मधेश प्रदेशबाट ५०९ जना, बागमती प्रदेशबाट ३६६ जना, गण्डकी प्रदेशबाट २१२ जना, लुम्बिनी प्रदेशबाट ५४८ जना, कर्णाली प्रदेशबाट २६ जना र सुदूरपश्चिम प्रदेशबाट ३५४ जना फरार प्रतिवादीहरू कानुनी दायरामा आइसकेका छैनन्।