खोटाङ – भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ। मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा बराहपोखरी गाउँपालिका-१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको मृत्यु भएको हो।
बराहपोखरीस्थित सालघारीभञ्ज्याङका खड्गबहादुर खपाङ्गी मगर र टंककुमारी खपाङ्गी मगरका छोरा पूर्णबहादुर दाजु र सुरेन्द्र भाइ भएको स्थानीय शिवकुमार श्रेष्ठले जानकारी दिए । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।
मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सातजनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ। विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराए। दुर्घटनाका घाइते चारजनाको अवस्था गम्भीर रहेको ताराबलले जानकारी दिए।
‘दुर्घटनामा पूर्णबहादुर र सुरेन्द्रको मृत्यु भएपछि उनीहरूको शव पर्खेर बसेको छु। यहाँ कोही चिनेजानेका मानिस छैनन्। चिनेजानेका मानिस कोही नहुँदा समस्यामा छु। घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगेको छ। उनीहरूको पनि अवस्था चिन्ताजनक छ । यसप्रति सम्बन्धित निकायको ध्यान जाओस्’, उनले भने।
दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते घरबाट मेघालय गएको छिमेकी श्रेष्ठले जानकारी दिए। मृतक मगर दाजुभाइमध्ये पूर्णबहादुर विवाहित र सुरेन्द्र अविवाहित रहेको स्थानीयले बताएका छन्।
रोजगारीको सिलसिलामा मेघालय पुगेका आफन्तको डेढ महिना नपुग्दै दुर्घटनामा परेर मृत्यु भएपछि परिवारका सदस्य चिन्तित बनेका छन्। खोटाङका विभिन्न ठाउँका स्थानीय युवा हिउँदको समयमा काम खोज्दै मेघालय जाने गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ।
मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई २ लाखका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्। घाइतेहरूलाई ५० हजारका दरले उपचार खर्च दिने पनि प्रधानमन्त्री मोदीले बताएका छन्।



About Us
प्रतिक्रिया