काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण रूपमा एकै चरणमा निर्वाचन सम्पन्न हुने बताएकी छन्। भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने स्पष्ट पारेकी छन्।
‘मतपत्र छपाइ हेर्दा निकै उत्साह जाग्यो। मतपत्र हेरेपछि निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ भन्ने लाग्यो। प्रेसका कर्मचारीहरूले निकै राम्रो काम गरेका छन्,’ प्रधानमन्त्री कार्कीले भनिन्। निर्वाचनका चार खम्बामध्ये दुई खम्बा निर्वाचन आयोग रहेको उल्लेख गर्दै उनले देशभर चुनावी माहोल बनेको बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘निश्चिन्त हुनुस्, चुनाव एउटै र एकै दिनमा हुन्छ। दुई पटक मतदान हुने अवस्था छैन। तोकिएकै मितिमा निर्वाचन हुन्छ।’ निर्वाचनको दिन फागुन २१ गते मौसम अनुकूल हुने विश्वास व्यक्त गर्दै उनले देशभर अवस्था सकारात्मक बन्दै गएको बताइन्। सबैले मतदान गर्ने अवसर पाउने र नतिजा आएपछि नयाँ सरकार गठन हुने तथा वर्तमान सरकार घर फर्किने बताइन्।
‘सबैजनाले मतदान गर्छन्, परिणाम आउँछ, त्यसपछि सरकार बन्छ र हामी सरकार हस्तान्तरण गरेर आ–आफ्नो घर फर्कन्छौँ,’ उनले भनिन्। मतपत्र छपाइ अनुगमनपछि गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर चुनावी माहोल बन्दै गएको बताए। ‘भदौ २३ र २४ गते मुलुक गम्भीर संकटमा पुगेको थियो। अहिले राजनीतिक हिंसा र द्वन्द्व क्रमशः घट्दै गएको छ। देशभर चुनावी वातावरण बनिरहेको छ। तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा निर्वाचन हुन्छ,’ उनले भनिन्।
वर्तमान सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतभन्दा सुदृढ सुरक्षा व्यवस्था मिलाइएको बताए। निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर सुरक्षा योजना तयार गरिएको जानकारी दिँदै उनले अति संवेदनशील तथा संवेदनशील क्षेत्रमा विशेष सुरक्षा व्यवस्था लागू गरिने बताए।
देश र नागरिकलाई कुनै पनि हालतमा असुरक्षित हुन नदिने प्रतिबद्धता जनाउँदै गृहमन्त्री अर्यालले चुनावका क्रममा एक थोपा रगत पनि बग्न नदिने प्रधानमन्त्रीको प्रतिबद्धतालाई आधार मानेर सुरक्षा योजना बनाइएको बताए। निर्वाचनमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको र जनताले निर्धक्क भएर मतदान गर्न सक्ने वातावरण सुनिश्चित गरिने उनले बताए।



About Us
प्रतिक्रिया