संकटको समयमा प्रभु बैंक सम्हाल्ने लक्ष्यमा शर्मा, यस्ता छन् चुनौतीका चाङ

'कर्मचारीको मनोबल बढाउनेदेखि सर्वसाधारणको विश्वास जित्नेसम्म'


काठमाडौं – अन्ततः प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्। बैंकले बेहोरेको लामो उतारचढावपूर्ण अवस्थापछि शर्मा बैंकको बागडोर सम्हाल्न आइपुगेका छन्। यसअघि, बैंकका तत्कालीन सीईओलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएपछि बैंकको नेतृत्वमाथि संकट छाएको थियो।

यही संकट र अनिश्चितता चिर्दै बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो। शर्माले नियुक्त भएकै दिनदेखि कार्यभार सम्हालिसेका छन्। सीआईबीको अनुसन्धानको दायरामा परेपछि सीईओ शेरचनले पदबाट राजीनामा दिएका थिए। सोसँगै शर्मा नियुक्त भएका हुन्।

शेरचनको राजीनामा स्वीकृत भएपछि बैंकले गत मंसिर १४ देखि नै कायममुकायम सीईओको जिम्मेवारी दिएको  निरज लम्साललाई नै कामु सीईओको जिम्मेवारी दिएको थियो। सीआईबीले शेरचनसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, डेपुटी सीईओ मनिराम पोखरेल सहितका कर्मचारीलाई पक्राउ गरेसँगै लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको थियो। 

को हुन् नवनियुक्त सीईओ ?

बैंकिङ्ग क्षेत्रमा २ दशक लामो अनुभव बटुलेका शर्माले विभिन्न बैंकको व्यवस्थापकीय अनुभव सँगालेका छन्। उनले माछापुच्छ्रे बैंक र तत्कालीन सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्व सम्हालिसकेका छन्। यस्तै, उनले ग्लोबल आइएमई बैंकमा डेपुटी सीईओ र एनएमबी बैंक लगायत बैंकहरुको पनि उच्च व्यवस्थापन तहमा बसेर कार्यानुभव सँगालिसकेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र भौतिक शास्त्रमा स्नातकोत्तर गरेका उनले नेदरल्यान्डबाट एमबीए गरेका छन्। सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका उनी काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा एमबीए अध्ययनरत विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका छन्। बैंकिङ्ग क्षेत्रमा सफल बैंकरका रूपमा चिनिने उनको नियुक्तिले प्रभु बैंक पहिलेको जस्तै बन्ने बैंकिङ्ग क्षेत्रका विज्ञहरू बताउँछन्।

कर्मचारीको मनोबल बढाउने 

यतिबेला प्रभु बैंकका कर्मचारीको मनोबल निकै खस्केको छ। उच्च तहका व्यवस्थापनहरु धमाधम पक्राउ पर्दा बैंकका कर्मचारीको मनोबलमा नकारात्मक असर परेको हो। उच्च तहका नेतृत्वमा अस्थिरता तथा सीईओ र डिसीईओ सहित बैंकका उच्च व्यवस्थापक पक्राउ परेका कारण बैंकको छवि र आन्तरिक वातावरणमा नकारात्मक प्रभाव पारेको छ। सञ्चालक समितिमा राजीनामा र अनुसन्धान बढ्दा पनि कर्मचारीहरूमा विश्वास घटेको छ।

बैंकमाथि हेर्ने दृष्टिकोणमा नै परिवर्तन आउँदा कर्मचारीहरूमा तनाव, असुरक्षा र निराशा बढेको छ। यस्तो समयमा बैंकले कर्मचारीको मनोबल नबढाएमा सेवा गुणस्तर घट्ने, ग्राहक सन्तुष्टि प्रभावित हुने, राम्रा कर्मचारी बाहिरिने र अन्ततः बैंकको समग्र सूचक मै पनि असर पर्ने हुँदा नवनियुक्त सीईओले सबैभन्दा पहिले बैंकका कर्मचारी मनोबल बढाउनु पर्नेछ। 

बैंकको छवि सुधार गर्नुपर्ने 

करिब दुई वर्षअघि बेलायतको प्रतिष्ठित वित्तीय पत्रिका द बैंकर बाट ‘बैंक अफ द इयर २०२३’को सम्मान पाएको प्रभु बैंक यतिबेला विविभ कारण गम्भीर संकटको घेरामा छ। बैंकका सञ्चालक र उच्च तहका व्यवस्थापकहरू कर्जा अपचलन र बैंकिङ्ग कसुरमा क्रमशः पक्राउ पर्न थालेपछि प्रभु बैंकको छविमाथि नै गहिरो प्रश्न उठ्न थालेको छ।

सन् २०१४ मा किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर विकास बैंक र जेनिथ फाइनान्स गाभिएर प्रभु बैंकको स्थापना भएको थियो। मर्जरको मुख्य उद्देश्य बैंकिङ्ग क्षेत्रलाई सुदृढ बनाउने, जोखिम घटाउने र वित्तीय स्थायित्व कायम गर्ने थियो। त्यतिबेला धेरैले प्रभु बैंकलाई ‘नयाँ युगको सुरक्षित बैंक’का रूपमा हेरेका थिए। तर, एक दशक नपुग्दै प्रभु बैंकको अवस्था किष्ट बैंकको विगतसँग तुलना हुन थालेको छ। 

सर्वसाधरणको दृष्टिकोण सुधार

नयाँ सीईओ शर्माको अर्को मुख्य चुनौती हो, सर्वसाधरणले दृष्टिकोण परिवर्तन गर्नु। प्रभु बैंक विभिन्न आर्थिक घोटला प्रकरणमा जोडिएपछि यतिबेला प्रभु बैंकलाई सर्वसाधरणले दृष्टिकोण परिवर्तन भएको छ। कुनै समय सर्बसाधरणको रोजाईको बैंक यतिबेला सर्वसाधरणको प्राथमिकताबाट बाहिर छ। 

यस्तो समयमा निक्षेपकर्ताप्रति जवाफदेही बन्दै निक्षेप सुरक्षित रहेको आभाष दिलाउदै बैंकका नयाँ सीईओले सर्वसाधरणको मनोबल पनि सुधार गर्नुपर्ने छ। बैंकिङ्ग क्षेत्रमा देखिएको चुनौतीपूर्ण वातावरणमा शर्माले बैंकको व्यवसाय विस्तार र वित्तीय व्यवस्थापनमा सुधारउन्मुख काम गर्नुपर्ने छ। उनले यतिबेलाको ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ग्राहक सेवामा सुधार ल्याउने योजनामा अघि बढ्नुपर्ने छ।

वित्तीय विवरणमा सुधार

यतिबेला प्रभु बैंकको अधिकांश सूचक ऋणात्मक छ। यतिबेला बैंकको छविमाथि उठेको प्रश्नले बैंकको नाफा समेत घटेको छ। बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासमम्ममा १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जबकी बैंकले गत आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ३३ करोड ६१ लख नाफा आर्जन गरेको थियो। 

बैंकको कुल सञ्चालन नाफा पनि घटेको छ। बैंकले दोस्रो त्रैमाससम्ममा १ अर्ब ९६ करोड ८३ लाख सञ्चालन नाफा गरेको छ। जबकी गत वर्षको यही अवधिमा २ अर्ब ५२ करोड २८ लाख यस्तो नाफा कमाएको थियो। नाफामा गिरावट आएसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ११.३५ रुपैयाँ रहेकोमा अहिले घटेर ८.६२ रुपैयाँमा झरेको छ। यता, बैंकको निष्क्रिय कर्जा पनि बढेको छ। यतिबेला बैंकको खराब कर्जा ७.९४ प्रतिशत पुगेको छ। बैंक डुब्नेसम्मका विषय बाहिरिएपछि प्रभुबाट कर्जा लिएकाहरुले किस्ता भुक्तानी नगर्दा यस्तो कर्जा बढ्न पुगेको हो।