‘बजार पुँजीकरणमा सबैभन्दा बढी हिस्सा वाणिज्य बैंकको’


 काठमाडौं – नेपाल स्टक एक्सचेञ्जको पुनसंरचना सम्बन्धी अध्ययन समितिले कुल बजार पुँजीकरणमा सबैभन्दा बढी हिस्सा वाणिज्य बैंकको रहेको देखाएकाे छ। समितिले बजार पुँजीकरणमा सबैभन्दा बढी हिस्सा वाणिज्य बैंककाे २३.८५ प्रतिशत रहेकाे देखाएकाे हाे।

यस्तै, सबैभन्दा कम हिस्सा (१.६९ प्रतिशत) वित्त समूहको रहेको बताइएको छ। विगतमा बजार पुँजीकरणमा करिब ८० प्रतिशत हिस्सा राख्ने वित्तीय क्षेत्रको हिस्सा क्रमशः घट्दै गएको छ।

साथै, आर्थिक वर्ष २०७९\८० को अन्त्यमा ६२.९६ प्रतिशत रहेको बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त, जीवन बीमा र निर्जीवन बीमा क्षेत्रको हिस्सा आर्थिक वर्ष २०८०\८१, आर्थिक वर्ष २०८१\८२ र संवत् २०८२ मंसिर मसान्तमा क्रमशः ५८.६४ प्रतिशत, ५४.१२ प्रतिशत र ५२.५२ प्रतिशतमा घटेको देखिएको बताइएको छ। 

पछिल्लो समय बजार पुँजीकरणमा जलविद्युत क्षेत्रको हिस्सा बढ्न थालेको देखिएको बताइएको छ। यसबाट धितोपत्र बजारमा वित्तीय क्षेत्रको केन्द्रीकरणमा क्रमशः कमी आउँदै गई क्षेत्रगत विविधता बढ्न थालेको अनुमान गर्न सकिन्छ। संवत् २०८२ मंसिर मसान्तमा भएको क्षेत्रगत बजार पुँजीकरणको अवस्थालाई चित्र ३.४ मा प्रस्तुत गरिएको बताइएको हो।