काठमाडौं – नेपाल राष्ट्र बैंकले सानै उमेरदेखि बालबालिकाको नाममा बैंक खाता खोल्ने व्यवस्थालाई प्रोत्साहन गरेकाे छ। यसले बालबालिकामा बचत गर्ने बानी विकास हुनुका साथै अभिभावकलाई उनीहरूको भविष्यका लागि वित्तीय योजना बनाउन सहयोग पुग्ने केन्द्रीय बैंकको भनाइ छ।
जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा नाबालकको नाममा खाता खोल्न सकिने व्यवस्था छ। यस्तो खाता खोल्दा नाबालक कानुनी रूपमा बालिग नहुँदासम्म खाताको सञ्चालन अधिकार अभिभावक वा संरक्षकको जिम्मामा रहन्छ।
नाबालक बालिग भएपछि सम्बन्धित बैंक वा वित्तीय संस्थामा गई आधिकारिक हस्ताक्षर तथा आवश्यक विवरण अद्यावधिक गरेपछि खाताको सञ्चालन अधिकार स्वतः नाबालककै नाममा हस्तान्तरण हुन्छ।
राष्ट्र बैंकका अनुसार बैंक खाता खोल्न उमेरको कुनै सीमा नतोकिएकाले सानै उमेरदेखि बालबालिकालाई बैंकिङ्ग प्रणालीसँग परिचित गराउन सकिन्छ। यसले दीर्घकालीन रूपमा वित्तीय चेतना अभिवृद्धि गर्दै सुरक्षित बचत संस्कृतिको विकासमा योगदान पुग्ने अपेक्षा केन्द्रीय बैंककाे छ।



About Us
प्रतिक्रिया