काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को समीक्षा अवधिमा नेपालको चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को छ महिना (२०८२ पुससम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस्तो देखाएको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६५ अर्ब ६७ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा गणना गर्दा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा बढेर ३ अर्ब ३ करोड अमेरिकी डलरले बचतमा पुगेको छ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर पनि बढेको देखिएको छ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ रहेको थियो। त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) समेत वृद्धि भएको छ। समीक्षा अवधिमा ८ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ६ अर्ब ४८ करोड रहेको थियो।
त्यस्तै, शोधनान्तर स्थिति पनि ५०१ अर्ब २४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो स्थिति २४९ अर्ब २६ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा बढेर ३ अर्ब ५४ करोड अमेरिकी डलरले बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया