पुस महिनामा भित्रियो एक खर्ब बढी रेमिट्यान्स, ६ महिनामा २ लाख बढीले लिए श्रम स्वीकृति


काठमाडौं – पुस महिनामा १ खर्ब ९२ अर्ब ६२ करोड विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ५ महिनाको रिपोर्ट सार्वजनिक गर्दै पुस महिनामा मात्रै १ खर्ब बढी रेमिट्यान्स भित्रिएको बताएको हो ।

आर्थिक वर्ष २०८२/८३ को छ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो । राष्ट्र बैंककाअनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो । यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९४ हजार ७३३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ३० हजार ४३९ र १ लाख ६२ हजार ६२८ रहेको थियो ।