राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन, तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छिन्।

यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी गराइन्। उनले आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको सयमा प्रतिनिधि सभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको पनि स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अवस्थामा गठित अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले हालै राष्ट्रिय सभाको हालै भएको निर्वाचनमा विजयी सदस्यहरूलाई बधाई पनि दिइन्। प्रधानमन्त्री कार्कीले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ पनि दिइन्।