आजदेखि सर्वसाधारणका लागि सूर्यकुण्ड हाइड्रोको आईपीओ बिक्री खुला


काठमाडौं – सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि (माघ १८ गते) सर्वसाधारणका लागि आईपीओ निष्काशन बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन पश्चात अब दास्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात् १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमा ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ६८ हजार ९६७ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले अब दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरुका लागि र ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकीको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा निष्काशन बन्द छिटोमा माघ २१ गते हुनेछ भने ढिलोमा फागुन ३ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।