५२ दिनको लागि ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि तरलता व्यवस्थापनका लागी भन्दै केन्द्रीय बैंकले आज ५२ दिनको लागि ३० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ११ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेस गर्न सक्नेछन् । यस निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ । स्वीकृत भएका बोलपत्र वापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ । बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने उल्लेख छ ।