काठमाडौं – निर्वाचन नजिकिँदै गर्दा नेपालमा नक्कली नोटको कारोबार सक्रिय बन्दै गएको देखिएको छ। पछिल्लो केही महिनामै राजधानीदेखि सीमावर्ती जिल्लासम्म नक्कली नोटसहित पक्राउ पर्नेहरूको संख्या बढेपछि सुरक्षा निकाय चिन्तित बनेका छन्।
गत पुस १६ गते काठमाडौंको गोकर्णेश्वर क्षेत्रबाट नेपाली एक हजार दरका ९३ थान नक्कली नोट बरामद गरिएको थियो। उक्त घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार बारा घर भई भारतको मोतिहारी लाला टोल–पतौना क्षेत्रमा डेरा गरी बस्ने रविकुमार श्रीवास्तवले ती नक्कली नोट छाप्ने गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार पुस २० गते नक्कली नोट नेपालमै छाप्न प्रयोग गरिने प्रिन्टिङ मेसिन, कम्प्युटर लगायतका सामग्री भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा नियन्त्रणमा लिइ उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

यसअघि मंसिर २४ गते सर्लाहीको विष्णु गाउँपालिका–६ बाट भारततर्फबाट नेपाल आउँदै गरेको मोटरसाइकलबाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोट बरामद गरिएको थियो। सो घटनामा प्रहरीले फिरोज खानलाई पक्राउ गरेको थियो।
त्यसैगरी मंसिर १६ गते रौतहटको ईशनाथ नगरपालिका–४, लत्मरी टोलबाट प्रहरीले एक हजार दरका १ सय १८ थान नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा अजय पटेल, गेनालाल पटेल र भारतका नागरिक जयप्रकाश कुमार पक्राउ परेका थिए।
पछिल्लो समय नक्कली नोट कारोबारीहरू भारतमा बसेर नक्कली मुद्रा छाप्ने र सीमावर्ती नाकाबाट नेपाल भित्र्याउने प्रवृत्तिमा सक्रिय देखिएको प्रहरीको भनाइ छ। हाल पक्राउ परेका अधिकांश व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने क्रममा सीमावर्ती क्षेत्रमा जाँचका बेला समातिएका हुन्। गोकर्णेश्वरबाट बरामद नक्कली नोट पनि भारतबाटै भित्र्याइएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बारासँग समन्वय गरी अभियुक्तहरूलाई नियन्त्रणमा लिइएको प्रवक्ता भट्टराईले बताए।
यसैबीच, रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जना भारतीय नागरिकलाई नक्कली नोटसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका राकेश कुमार साह र विक्रम कुमार पासवान रहेका छन्। उनीहरूको साथबाट ५ सय दरको १ थान र २ सय दरको १० थान गरी जम्मा भारतीय २ हजार ५ सय रुपैयाँ बराबरका नक्कलीजस्तो देखिने नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा मात्रै हालसम्म ३१ जना नक्कली नोट कारोबारी पक्राउ परिसकेका छन्। पछिल्ला पाँच आर्थिक वर्षमा भने यस्तो अपराधमा संलग्न ४ सय ६७ जना पक्राउ परिसकेका छन्। अघिल्ला वर्षको तुलनामा नक्कली नोटसहित पक्राउ पर्नेको संख्या बढ्दो क्रममा रहेको प्रहरीको निष्कर्ष छ।
विशेषगरी एक हजार र पाँच सय दरका नोट नक्कली बनाएर बजारमा चलाउने गिरोह सक्रिय रहेको प्रहरीको आशंका छ। यस्ता नोट प्रयोग गरेर सर्वसाधारणलाई ठगी गर्ने प्रयास बढ्न सक्ने भन्दै सुरक्षा निकाय सतर्क बनेका छन्। निर्वाचन नजिकिँदै गर्दा नक्कली नोट प्रयोग हुने जोखिम बढ्न सक्ने ठहर गर्दै नेपाल प्रहरीले सीमावर्ती क्षेत्र, चेकपोस्ट र प्रमुख नाकाहरूमा निगरानी कडा बनाएको छ। नक्कली मुद्रा नियन्त्रणका लागि विशेष निगरानी, सूचना संकलन तथा सघन जाँच अभियान तीव्र पारिएको प्रहरीको भनाइ छ।
केन्द्रीय प्रहरी कार्यालयले निर्वाचन अवधिमा कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यसहित देशभरका प्रहरी चौकीहरूलाई विशेष निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। उनका अनुसार नक्कली नोटको कारोबार कानुनी रूपमा गम्भीर अपराध भएकाले यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरीको व्यापक परिचालन गरिएको छ।
‘नक्कली नोट कारोबार दण्डनीय अपराध हो। यस्ता गतिविधिमा संलग्नहरूलाई पक्राउ गरी कानुनअनुसार कारबाही भइरहेको छ,’ प्रवक्ता काफ्लेले भने। प्रहरीको सक्रियता बढेकै कारण पछिल्लो समय नक्कली नोटसँग सम्बन्धित घटनामा संलग्न व्यक्तिहरू पक्राउ परिरहेको उनको भनाइ छ। उनका अनुसार नक्कली नोटको प्रयोगले निर्वाचनभन्दा बढी आर्थिक गतिविधिमा नकारात्मक असर पार्ने गर्छ।

यसबीच सरोकारवाला निकायहरूले सर्वसाधारणलाई नक्कली नोटबाट जोगिन वास्तविक नोटका सुरक्षा चिन्हहरू पहिचान गर्न आग्रह गर्दै आएका छन्। वास्तविक नोटमा पानीछाप, सुरक्षा धागो, उभ्याउँदा देखिने अंक र विशेष छापजस्ता चिन्हहरू स्पष्ट देखिने बताइन्छ। शंका लागेमा नजिकको बैंक वा प्रहरी कार्यालयमा जानकारी गराउनुपर्ने प्रहरीको सुझाव छ। प्रहरीका अनुसार नेपालमा नेपाली रुपैयाँका ५०, १००, ५०० र १ हजार दरका, भारतीय रुपैयाँका १००, ५००, १ हजार र २ हजार दरका तथा अमेरिकी डलरका ५० र १०० दरका नक्कली नोटहरू बरामद हुने गरेका छन्।
वर्षेनी बढ्दै नक्कली नोटसम्बन्धी उजुरी
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा नक्कली नोटसम्बन्धी २५ वटा उजुरी परेका थिए, जसमा ४४ जना पक्राउ परेका थिए। सो वर्ष ३४ लाख १६ हजार रुपैयाँ बराबरका नेपाली र ५ सय रुपैयाँ बराबरका भारतीय नक्कली नोट बरामद भएका थिए। आव २०७८/७९ मा यस्ता उजुरी ५७ पुगेका थिए भने १ सय २ जना पक्राउ परेका थिए। उक्त वर्ष ३७ लाख ६९ हजार रुपैयाँ बराबरका नेपाली र २ लाख ७८ हजार रुपैयाँ बराबरका भारतीय नक्कली नोट बरामद गरिएको थियो।
त्यसैगरी आव २०७९/८० मा ६३ उजुरी दर्ता हुँदा १ सय ६ जना पक्राउ परेका थिए। सो अवधिमा ५१ लाख ६० हजार रुपैयाँ बराबरका नेपाली, ७ हजार ९ सय रुपैयाँ बराबरका भारतीय र २६ हजार ८ सय अमेरिकी डलर बराबरका नक्कली नोट बरामद भएका थिए। आव २०८०/८१ मा नक्कली नोटसम्बन्धी उजुरी संख्या ७१ पुगेको थियो। यस अवधिमा १ सय ३८ जना पक्राउ परेका थिए भने ५ करोड ८ लाख ७३ हजार रुपैयाँ बराबरका नेपाली, ४३ हजार ९ सय रुपैयाँ बराबरका भारतीय र २७ हजार ७ सय अमेरिकी डलर बराबरका नक्कली नोट बरामद गरिएको थियो।
त्यस्तै, आव २०८१/८२ मा ३५ वटा उजुरी दर्ता हुँदा ६३ जना पक्राउ परेका थिए। सो वर्ष १८ लाख ७८ हजार रुपैयाँ बराबरका नेपाली, ३८ हजार ३ सय रुपैयाँ बराबरका भारतीय र ६१ लाख ६ हजार अमेरिकी डलर बराबरका नक्कली नोट बरामद भएका थिए। चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्ममा मात्रै १० वटा उजुरी दर्ता भइसकेका छन्। यस अवधिमा ३१ जना पक्राउ परेका छन् भने ३ लाख ८३ हजार रुपैयाँ बराबरका नेपाली र ७७ हजार रुपैयाँ बराबरका भारतीय नक्कली नोट बरामद भएको प्रहरीको तथ्यांक छ।
नक्कली नोट बनाउनेलाई कस्तो सजाय ?
मुलुकी अपराध संहिता, २०७४ को दफा २५६ अनुसार खोटा (नक्कली) मुद्रा बनाउन, बनाउने उद्योग सञ्चालन गर्न वा त्यसमा संलग्न हुन निषेध गरिएको छ। खोटा मुद्रा बनाउने वा बनाउने उद्योग गर्ने व्यक्तिलाई मुद्राको परिमाण र मूल्यका आधारमा पाँच वर्षदेखि दश वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
त्यसैगरी नक्कली मुद्रा हो भन्ने जानीजानी सद्दे सरह चलन गर्ने नियतले त्यस्तो मुद्रा खरिद–बिक्री, लेनदेन, निकासी–पैठारी वा चलनचल्तीमा ल्याउने व्यक्तिलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।





About Us
प्रतिक्रिया