नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७.५३ अंकको गिरावट देखिदा बजार २७ सय १४ दशमलव ५ को बिन्दुमा बन्द भएको हो। आज ३२० कम्पनीले कारोबार गर्दा कुल १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर किनबेच भएको छ।

आज ङादी ग्रुप पावरको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, एसवाई प्यानल नेपालको ५२ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी हिमाल देलखा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ९.२३ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ९.१९ प्रतिशतका दरले कमाएका छन्।

त्यसैगरी, आज कर्पाेरेट डेभलपमेन्ट बैंक, माथिल्ला लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन्।