म्याग्दी – म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ। हिमपातका कारण जनजिवन प्रभावित भएको छ। धवलागिरी गाउँपालिका–१ गुुर्जाका वडा सदस्य गुनराम छन्त्यालले बिहानैदेखि निरन्तर हिमपात भइरहेको जानकारी दिए । राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उनले बताए।
समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर उचाईमा रहेको गुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ। सर्वसाधारणहरु घरभित्रै आगो तापेर बसेका छन्। गाईबस्तु, भेडाबाख्रालाई गोठमै राखेर सुख्खा घाँस खुवाएर राखेका छन्।
पर्यटकीय स्थल घोडेपानी, पुुनहिल, खोप्रा र मोहरेडाडा पनि हिउँले छोपिएको छ। घोडेपानीका होटल व्यवसायी मिना पुनले हिमपात सुरुभएपछि चहलपहल घटेको बताए। घोडेपानी र पुनहिल घुम्न आउने पर्यटक घटेपछि सुनसान भएको छ।
यो वर्षको दोस्रो हिमपात भएको हो। म्याग्दी जिल्लाभर बर्षा भएको छ। बर्षाका कारण हिउँदेबालीमा फाइदा पुगेको छ। हिउँ र आकाशे पानीले सिचाईको काम गरेको मालिका गाउँपालिका ७ का कृषक भुपेन्द्र शर्माले बताए।
सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्व पाउने र खेतीबाली सप्रिने उनले बताए। गहुँ, जौ, केराउ, सुन्तलाजात फलफुलका लागि बर्षाले सहयोग गरेको छ।





About Us
प्रतिक्रिया