काठमाडौं – नेपालका हिमाली पदयात्रा र पर्वतारोहण क्षेत्रमा पछिल्लो एक दशकभन्दा बढी समयदेखि ‘फेक रेस्क्यु’ अर्थात् नक्कली उद्धारका घटना बढ्दै गएका छन्। बीमा रकम दुरुपयोग गर्ने उद्देश्यले केही पदयात्री, गाइड र हेलिकप्टर कम्पनीबीच मिलेमतो गरी अनावश्यक उद्धार गराउने यस्ता घटनाले नेपालको साहसिक पर्यटनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
सामान्य स्वास्थ्य समस्या, मौसमका कारण भएको असहजता वा पदयात्रा अधुरै छोड्नुपर्ने अवस्थालाई ‘आपत्कालीन’ भनेर देखाउँदै हेलिकप्टरमार्फत उद्धार गराउने प्रवृत्ति बढ्दै गएको छ। पछिल्लो समय उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकहरूको झुटा विवरण तयार गरी बीमा दाबी गर्ने घटनाहरू बारम्बार सार्वजनिक हुन थालेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस्ता ‘फेक रेस्क्यु’ प्रकरणमा संलग्न ६ जनालाई कानुनी दायरामा ल्याएर अनुसन्धान गरिरहेको छ। नेपालका हिमाली क्षेत्रमा पदयात्राका लागि हरेक वर्ष विभिन्न देशबाट हजारौँ पर्यटक आउने गर्छन्। यही अवसरको फाइदा उठाउँदै केही समूहले नक्कली उद्धारमार्फत बीमा रकम दाबी गर्ने गरेको सीआईबीको अनुसन्धानले देखाएको छ।

सीआईबीका अनुसार माउन्टेन रेस्क्यु सर्भिसले गरेका १ हजार २ सय ४८ वटा उद्धारमध्ये १ सय ७१ वटा नक्कली पाइएको छ। त्यस्तै, नेपाल चार्टर्ड सर्भिसले गरेका ४७१ उद्धारमध्ये ७५ वटा शङ्कास्पद देखिएका छन्। एभरेस्ट एक्स्पेरियन्स एन्ड एसोसिएट्सका ६०१ उद्धारमध्ये ७१ वटा शङ्कास्पद रहेको सीआईबीले जनाएको छ। यी तीन कम्पनीमार्फत मात्रै एक करोड ९६ लाख ९० हजार अमेरिकी डलर (झन्डै दुई अर्ब ८७ करोड रुपैयाँ) बराबरको बीमा दाबी गरिएको तथ्य अनुसन्धानबाट खुलेको सीआईबीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोजकुमार केसीले जानकारी दिए। हिमाली क्षेत्रमा पदयात्रा गर्दा उचाइका कारण देखिने सामान्य स्वास्थ्य समस्या (हाइ अल्टिच्युड सिकनेस) लाई बढाइचढाइ गरी आपत्कालीन अवस्था देखाउने गरिएको छ। यस्तो अवस्थामा पर्यटकलाई भयभीत पारेर अनावश्यक उद्धार गराइने गरेको पाइएको छ।
नेपालमा मौन रूपमा फैलिँदै गएको ‘फेक रेस्क्यु’ प्रवृत्तिले पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकहरूलाई आर्थिक रूपमा ठगिने अवस्था सिर्जना गरेको छ। साथै, यसले नेपाललाई सुरक्षित साहसिक पर्यटन गन्तव्यका रूपमा विश्व बजारमा प्रस्तुत गर्न थप चुनौती थपेको सरोकारवालाहरूको भनाइ छ।
यसअघि पनि यस घटनामा प्रहरी र सरकारले अनुसन्धान गर्न खोजेको थियो। तर सोचे जस्तो प्रमाण हात पार्न सकेको थिएन। यसअघि नेपालमा २०७५ सालमा पनि ‘फेक रेस्क्यु’ को घटना बाहिरिएको थियो। त्यस बेलामा नेपाल आउने पर्यटकलाई बीमा गर्ने विदेशी बीमा कम्पनीहरूले नेपाल भ्रमण गर्दा लिने बीमा शुल्क बढाउँदै लगेका थिए।
साथै, सो रकम हात पार्न साथ बिचौलिया, ट्रेकिङ, ट्राभल र रेस्क्यु एजेन्सी, हेलिकोप्टर कम्पनी र अस्पतालको मिलेमतोमा ‘फेक रेस्क्यु ’ को ठुलो धन्दा चलाएको पाइएको थियो। त्यस बेलामा पर्यटन मन्त्रालयले कार्यदल नै बनाएर अनुसन्धान गरेको थियो । त्यस बेलामा आठ वटा ट्राभल ट्रेकिङ तथा उद्धार कम्पनी, चार वटा अस्पताल, तीन वटा हेलिकप्टर कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको थियो।
साथै, हिमाल चढ्न जाने पर्यटकहरूलाई बिरामी बनाएर नक्कली उद्धार (फेक रेस्क्यु) गरी हेलिकोप्टर सञ्चालकहरू लामो समयदेखि पर्यटकहरूबाट करोडौँ रकम ठगी हुँदै आएको विषय चर्किएपछि हेलिकप्टर सञ्चालकहरूबिच नै विवाद चर्चिएको थियो। सोही क्रममा हेलिकप्टर सञ्चालकहरूसँग ट्राभल एजेन्सीदेखि गाइड अस्पतालहरूसमेत मिलेर पर्यटकहरूलाई बिरामी बनाउने, फेक रेस्क्यु गर्ने बीमा कम्पनीदेखि सम्बन्धित पर्यटकहरूसँग करोडौँ रुपैयाँ असुल्ने काम भएको थियो।

सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठ अहिलेको बाहिरिएको ‘फेक रेस्क्यु’ २०१७/२०१८ साल तिरबाट नै आएको थियो। तर, अहिले सीआईबीले चाहिँ २०२२ पछिको घटनाको मात्र प्रमाण फेला पारेको उनी बताउँछन्। उनी भन्छन्, ‘त्यो समयदेखि नै ‘फेक रेस्क्यु’का धेरै मुद्दाहरू थिए। त्यो बेलामा कमिटी नै गठन गरेर रिपोर्ट नै बनाइएको थियो।’ अहिले चाहिँ सीआईबीले २०२२ पछिका ‘फेक रेस्क्यु’का घटनालाई अनुसन्धान गरेको हो। सीआईबीले यस घटनामा विभिन्न क्षेत्रका प्रहरीका प्रतिवेदन, अनुसन्धानका प्रतिवेदन विभिन्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा अनुसन्धान गरिएको हो।
सीआईबीको प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा रहेका अभिलेख विवरण किर्ते गर्ने गरेको खुल्न आएको छ। साथै, उद्दार गरिएको भनिएका विदेशी पर्यटकहरूलाई अनिवार्य रूपमा इन्स्योरेन्स पोलिसीमा उल्लेख भएको शर्त बमोजिम काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार गरेको देखाई उपचारका बिल समेतका कागजातहरू तयार गरी उद्दार गरिएको व्यक्तिको नामको बीमा रकमको झुटा दाबी गरेको खुल्न आएको सीआईबीका श्रेष्ठ बताउँछन्।

सीआईबीले यस घटनामा असोजबाट नै अनुसन्धान शुरु गरेको भएता पनि अहिले आएर मात्र सफलता पाउन सकेको हो। आर्थिक लाभका लागि केही समुहहरू मिलेर फेक रेस्क्यु गर्ने गर्छन्। यसले पर्यटन क्षेत्रमा असर यस्तो सिधै असर गर्दैन। हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका क्रममा आउने विदेशी पर्यटकहरूमाथि फेक रेस्क्युको घटनाले धेरै प्रभावित नहुने प्रहरी नायव उपरीक्षक कृष्णराज ओझा बताउँछन्। अहिलेसम्मका अवस्थामा फेक रेस्क्यु घटनाहरूले यस्तो केही प्रभाव पारेको आवस्था नरहेको उनी बताउँछन्। उनी भन्छन्, ‘फेक रेस्क्यु व्यक्तिको नियतले गर्ने आपराधिक पाटो हो, तर यसले नेपाल भित्रने पर्यटनको संख्यामा नै प्रभाव पर्दैन।’





About Us
प्रतिक्रिया