चुक्ता पुँजीको न्यूनतम सीमा पुर्याउन पाँच बीमा कम्पनी असफल

दुई पुनर्बीमा कम्पनीको २० अर्ब पुँजी पुर्याउने माघसम्मको समय सीमा सकिँदै


काठमाडौं – नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीको सीमा पूरा गर्न एक जीवन बीमा र चार निर्जीवन बीमा कम्पनी असफल भएका छन्। जीवन बीमा कम्पनीका लागि तोकिएको ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूका लागि तोकिएको न्यूनतम २ अर्ब ५० करोड रुपैयाँको चुक्ता पुँजी सीमा अझै पनि सबै कम्पनीले पूरा गर्न सकेका छैनन्। चालू आर्थिक वर्षको असार र पुस मसान्तसम्मको तथ्यांक हेर्दा केही कम्पनीले पुँजी वृद्धि गरे पनि उल्लेख्य संख्याका बीमा कम्पनीहरू नियामकीय सीमाभन्दा तलै रहेका छन्। यसले आगामी दिनमा उनीहरूलाई थप दबाबमा पार्ने संकेत देखाएको छ।

सबैभन्दा कमजोर अवस्थामा राष्ट्रिय बीमा कम्पनी लिमिटेड देखिएको छ। पुस मसान्तसम्म यसको चुक्ता पुँजी मात्र २७ करोड रुपैयाँ रहेको छ। यो तोकिएको सीमाभन्दा करिब २ अर्ब २३ करोड रुपैयाँ कम हो। केही कम्पनीहरू सीमाको नजिक रहे पनि अझै थ्रेसहोल्ड भेट्न सकेका छैनन्। सानिमा जिआइसी इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँमा सीमित छ भने यूनाइटेड अजोड इन्स्योरेन्सको २ अर्ब ३१ करोड रुपैयाँ मात्रै छ। प्रभु इन्स्योरेन्सले पुस मसान्तसम्म करिब २६ करोडले पुँजी वृद्धि गरे पनि चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँमा सीमित रहेकाले नियामकीय मापदण्ड पूरा गर्न अझै ठूलो दूरी तय गर्नुपर्ने देखिन्छ।

यसैबीच, केही कम्पनी भने सिमान्त अवस्थामा सुरक्षित देखिएका छन्। हिमालयन एभरेष्ट इन्स्योरेन्स करिब २ अर्ब ५० करोड रुपैयाँ आसपास अडिएको छ भने नेपाल इन्स्योरेन्सले पुस मसान्तमा २ अर्ब ५५ करोड रुपैयाँ पुर्याएर न्यूनतम सीमा पार गरेको छ। अन्य केही कम्पनीहरूले पनि सीमाभन्दा थोरै माथि रहेर आफ्नो स्थिति जोगाएका छन्। पुस मसान्तसम्म पनि चुक्ता पुँजी सीमा नछुने कम्पनीहरू अब बीमा प्राधिकरणको कडा निगरानी मा पर्न सक्ने सम्भावना छ। पुँजी वृद्धि गर्न नसक्ने कम्पनीहरूलाई मर्जर, हकप्रद शेयर जारी, रणनीतिक साझेदारीको विकल्पमा जानुपर्ने हुन्छ।

अधिकांश जीवन बीमा कम्पनीले पुर्याए थ्रेसहोल्ड
जीवन बीमा कम्पनीहरूका लागि तोकिएको न्यूनतम ५ अर्ब रुपैयाँको चुक्ता पुँजी थ्रेसहोल्ड पुस मसान्तसम्म अधिकांश कम्पनीले पूरा गरेका छन्। चालु आवको असार मसान्त र पुस मसान्तको तथ्यांक तुलना गर्दा बजारका ठूला तथा मध्यम आकारका जीवन बीमा कम्पनीहरू नियामकीय मापदण्डभित्र अडिएका देखिन्छन् भने केही कम्पनीले उल्लेख्य पुँजी वृद्धि गरेर थ्रेसहोल्ड कटाएका छन्। सबैभन्दा ठूलो चुक्ता पुँजी भएको कम्पनीका रूपमा हिमालयन लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । यसको चुक्ता पुँजी करिब ९ अर्ब १४ करोड रुपैयाँ कायम छ।

त्यसपछि नेपाल लाइफ इन्स्योरेन्स (९ अर्ब ३ करोड), नेशनल लाइफ इन्स्योरेन्स (५ अर्ब ४७ करोड) र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (५ अर्ब ५० करोड) ले पनि सहज रूपमा पाँच अर्बको सीमा माथि आफ्नो उपस्थिति कायम राखेका छन्। रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, सुर्यज्योति लाइफ, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ र आईएमई लाइफ पनि ५ अर्ब वा सोभन्दा माथिको चुक्ता पुँजीमा स्थिर देखिएका छन्।

यस अवधिमा सबैभन्दा उल्लेखनीय पुँजी वृद्धि भने एशियन लाइफ इन्स्योरेन्सले गरेको छ। असार मसान्तसम्म करिब ३ अर्ब ३९ करोड रुपैयाँ रहेको चुक्ता पुँजी पुस मसान्तमा ५ अर्ब रुपैयाँ पुर्याउँदै यसले करिब १ अर्ब ६० करोड रुपैयाँको वृद्धि गरेको छ । यससँगै एशियन लाइफ पनि पाँच अर्बको थ्रेसहोल्ड कटाउने कम्पनीहरूको सूचीमा प्रवेश गरेको छ। सन नेपाल लाइफले पनि पुसमसान्तसम्म करिब २ करोड रुपैयाँले पुँजी बढाएर ५ अर्बभन्दा माथि पुर्याएकाे छ।

राष्ट्रिय जीवन बीमा कम्पनी को चुक्ता पुँजी अझै पनि १८ करोड रुपैयाँ मै सीमित छ भने मेट लाइफ (एलिको) विदेशी बीमकको शाखाका रूपमा सञ्चालनमा रहेकाले चुक्ता पुँजी शून्य देखिएको छ। यी कम्पनीहरू नियामकीय थ्रेसहोल्डको दायराभन्दा बाहिर रहेकाले भविष्यमा नीतिगत निर्णय र पुनर्संरचनाको बहसमा पर्ने देखिन्छन्। पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरूको कुल चुक्ता पुँजी ६९ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ।

पुनर्बीमाको २० अर्ब पुँजी पुर्याउने समयसीमा घर्किँदै
दुई पुनर्बीमा कम्पनीहरूको २० अर्ब रूपैयाँको चुक्ता पुँजी कायम गर्नुपर्ने समयसीमा माघ मसान्तसम्म छ। तर, चुक्ता पुँजी बजार हकप्रदको प्रस्ताव लिएर अघि बढेको नेपाल रिइन्स्योरेन्स कम्पनी अझै टुंगोमा पुगेको छैन। सरकारले आफ्नो हिस्साको लगानी गर्नुपर्ने रकम विनियोजन नगरेकाले हकप्रदको स्वीकृतिमा अर्थ मन्त्रालय अनिर्णित छ।

सरकारी स्वामित्वकै पुनर्बीमा कम्पनीले निर्णय नलिएकाले हिमालयन रिइन्स्योरेन्सले पनि पुँजीवृद्धिमा चासो देखाएको छैन। पुसमसान्तसम्म नेपाल रिको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ। त्यस्तै, हिमालयन रिको १० अर्ब ४६ करोड छ। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार मन्त्रालयले बीमा प्राधिकरणलाई म्याद थपका लागि अनुरोध गरिसकेको छ। सोहीअनुसार प्राधिकरणले पनि पुँजीवृद्धिको समय सीमा थप्ने तयारी गरेको छ।

पुस मसान्तसम्म न्यूनतम चुक्ता पुँजी पुर्याउन नसक्ने कम्पनीहरूः
पाँच अर्बको पुँजी कायम नभएका जीवन बीमातर्फ
राष्ट्रिय जीवन बीमा कम्पनी
हाल कायम चुक्ता पुँजीः १८ करोड रूपैयाँ
२ अर्ब ५० करोडको पुँजी कायम नभएका निर्जीवन बीमातर्फ
सानिमा जिआइसी इन्स्योरेन्स लि.
हाल कायम चुक्ता पुँजीः २ अर्ब १५ करोड
राष्ट्रिय बीमा क.लि.
हाल कायम चुक्ता पुँजीः २७ करोड
यूनाईटेड अजोड इन्स्योरेन्स क.लि.
हाल कायम चुक्ता पुँजीः २ अर्ब ३१ करोड
प्रभु इन्स्योरेन्स लि.
हाल कायम चुक्ता पुँजी :एक अर्ब ७० करोड
२० अर्बको पुँजी पुर्याउन नसक्ने पुनर्बीमा कम्पनी
नेपाल रिइन्स्योरेन्स
हाल कायम चुक्ता पुँजी: १३ अर्ब ४२ करोड
हिमालयन रिइन्स्योरेन्स
हाल कायम चुक्ता पुँजी :१० अर्ब ८६ करोड