पोहोर ६ महिनामा एक किलो मात्रै भित्रिएको चाँदी यसपालि १२७० किलो भित्रियो

चाँदीमा किन बढिरहेको छ नेपालीको आकर्षण ? 


काठमाडौं – शुभकार्यमा अरू धातुको तुलनामा सुनको गरगहना खोज्ने नेपाली समाजमा चाँदीको आकर्षण बढिरहेको देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा एक किलो मात्रै भित्रिएको चाँदी चालु आव ०८२/८३ को सोही अवधिमा भने एक हजार दुई सय ७० किलो भित्रिएको तथ्यांक छ। नेपालका विवाह समारोहदेखि शुभ कार्यमा मानिसले सुनका गरगहना मात्रै पहिरेको देखिने गरेको छ, चाँदीको खासै देखिन्न। तर, पछिल्लो ६ महिनामा चाँदीको आयात उच्च हुनुले नेपालीहरूले चाँदीको खपत कुन प्रयोजनका लागि गरिरहेका छन् त ?

अन्तर्राष्ट्रिय बजारमा अमेरिका, चीन जस्ता शक्तिशाली राष्ट्रहरूले सौर्य ऊर्जामा लगानी बढाइरहँदा सोलार प्यानलमा खपत हुने सिल्भर लाइनिङ प्रयोजनलाई चाँदीको खपत बढ्दो छ। त्यसबाहेक विद्युतीय सवारी साधनमा पनि यसको माग बढ्दो छ। यसैले यो गहनाको लागि मात्र नभई औद्योगिक उत्पादन र हरित ऊर्जा क्षेत्रमा आवश्यक सामग्री बनिसकेको छ। तर, नेपालमा भने यसको माग बढ्नुको मुख्य कारण भने सुनचाँदीको मूल्य बढ्दै जानु। लगानीका हिसाबले सुनको तुलनामा चाँदीको लागत सस्तो पर्ने भएकाले सुरक्षित लगानीको रूपमा नेपालीहरूले यसमा पैसा लगाएको देखिन्छ। भविष्यमा चाँदीको मूल्य अझै बढ्ने अपेक्षाले पनि चाँदीको माग बढाइरहेको जानकारहरू बताउँछन्।

राष्ट्र बैंकले पनि गएको धन त्रयोदशीमा सुनका असर्फी छाडेर चाँदीका सिक्का बिक्री गरेको थियो। त्यस्तै, चुलिँदो विदेशी मुद्रा सञ्चितिलाई व्यवस्थापन गर्न चाँदीमा दिइने विदेशी मुद्रा सटहीको सुविधा पनि बढाएको थियो। चाँदी आयात गर्दा प्रति पटक एक लाख डलरसम्मको सटही सुविधा दिन सक्ने व्यवस्थालाई परिवर्तन गर्दै चारदेखि २० लाख डलरसम्म पुर्याइएकाे थियो। यस अनुसार महिनामा एक पटक आयात गर्ने उद्योगलाई बीस लाख डलरसम्म व्यवसायीको लागि चार लाख डलरको सीमासम्म हुने गरी सटही सुविधा प्रदान गर्न सकिनेछ। 

९ दिनमा सात सयले बढ्दो चाँदीको मूल्य

माघ महिनामा चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा देखिएको छ । महिनाको सुरुदेखि अन्त्यतिर जाँदा चाँदीको प्रतितोला मूल्य करिब ७ सय रुपैयाँभन्दा बढीले बढेको छ। माघ १ गते प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य माघ २ गते ५ हजार ६ सय ४५ रुपैयाँ पुगेको थियो। त्यसपछि केही दिन उतार–चढाव देखिए पनि समग्रमा मूल्य उकालो लागिरह्यो। माघ ४ गते चाँदी प्रतितोला ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भयो भने माघ ५ गते ५ हजार ८ सय १० रुपैयाँ पुगेको थियो।

माघ ६ गते चाँदीको मूल्य ५ हजार ८ सय ८० रुपैयाँ पुगेको थियो भने माघ ७ गते ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भयो। माघ ८ गते सामान्य गिरावट आएर प्रतितोला ५ हजार ८ सय ७० रुपैयाँमा झरेको चाँदीको मूल्य माघ ९ गते भने एकाएक बढेर ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ। मूल्य बढ्दै जाँदा त्यसको लाभ भविष्यमा लिन सक्ने अपेक्षाले चाँदीमा सर्वसाधारणको आकर्षण बढेको देखिन्छ।