काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को चौथो सत्रमा वक्ताका रुपमा खल्ती वाइ आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रेग्मी सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै’ विषयक चौथो सत्रमा रेग्मी सहभागी हुने भएका हुन्।
खल्ती र आईएमई पे मर्ज हुनुअघिसम्म रेग्मी आईएमई पेको सीईओको रुपमा कार्यररत थिए। मर्जरपछि बनेको कम्पनीमा रेग्मी कम्पनीको निर्देशक बनेका थिए। यता, मर्जरमा बनेका सीईओ विनय खड्का बाहिरिएपछि भने रेग्मी खल्ती वाइ आईएमईका सीईओ बनेका हुन्। रेग्मीसँग बैंकिङ्ग तथा फिनटेक क्षेत्रको डेढदशक लामो अनुभव सँगालेका उनले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
सन् २००७ मा एसटीएम टेलिकमबाट प्रोजेक्ट म्यानेजरको रूपमा करिअर सुरु गरेका उनले एनआईसी एशिया बैंक र एनएमबी बैंकमा पनि काम गरिसकेका छन्। रेग्मीले काठमाडौं इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ र पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए गरेका छन्।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ । यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।
सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै जस्ता विषयमा छलफल हुनेछ।
यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया