काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को चौथो सत्रमा वक्ताका रुपमा फोन पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटा सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै’ विषयक चौथो सत्रमा सापकोटा सहभागी हुने भएका हुन्।
सापकोटा यसअघि फोन पेमै असिस्टेन्ट सीईओको रूपमा कार्यरत थिए। फोन पेमा प्रमुख प्राविधिक अधिकृतको रूपमा काम सुरु गरेका सापकोटा त्यसअघि नेपाल क्लियरिङ हाउसमा आबद्ध रहेका थिए। एभरेष्ट बैंकबाट आफ्नो करिअर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आईटी क्षेत्रमा १५ वर्ष भन्दा लामो समय काम गरेको अनुभव छ।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।
सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै जस्ता विषयमा छलफल हुनेछ।
यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया