इन्स्योरेन्स डिस्कोर्श: स्वास्थ्य बीमाको भविष्यसम्बन्धि सत्रमा मेडिसिटी हस्पिटलका सीईओ तोमर सहभागी हुने


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को तेस्राे सत्रमा वक्ताका रुपमा मेडिसिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अमित तोमर सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘ स्वास्थ्य सेवाको पहुँच, नेपालमा स्वास्थ्य बीमाको भविष्य’ विषयक सत्रमा तोमर सहभागी हुने भएका हुन्।

सन् २०२५ जुनदेखि उनी नेपाल मेडिसिटीको सीईओको रुपमा कार्यररत छन्। युनिभर्सिटी अफ लिड्स युकेबाट अस्पताल व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले स्वास्थ्य सेवा नेतृत्वमा अन्तर्राष्ट्रिय अनुभव समेत सँगालेका छन्। यतिबेला उनी गुणस्तरीय सेवाहरू र उन्नत उपचार विस्तार गर्दै नेपालमा स्वास्थ्य सेवाको स्तर उकास्न लागि परिरहेका छन्।

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।