कालिका लघुवित्तको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गर्दै सर्वसम्मत रूपमा पारित गरेको छ।

साधारण सभामा सञ्चालक समितिद्वारा प्रस्तावित लाभांश वितरणसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ। सभाले आ.व. २०८१/०८२ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव पारित भएसँगै शेयरधनीहरूले संस्थाको प्रतिफलमा उल्लेखनीय लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ।

बोनस शेयर वितरणपश्चात कालिका लघुवित्तको चुक्ता पूँजी ४४ करोड ८४ लाख ६१ हजार ५ सय ३५ रुपैयाँ २४ पैसा पुग्ने संस्थाले जनाएको छ। हाल कायम कुल पूँजी संरचनामा संस्थापक समूहको शेयर स्वामित्व ६४.५२ प्रतिशत र सर्वसाधारण समूहको ३५.४८ प्रतिशत रहेकोमा, संस्थापक समूहको १० प्रतिशत शेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ। सो निर्णय कार्यान्वयनपछि संस्थापक समूहको शेयर स्वामित्व ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत कायम रहनेछ।

साधारण सभाले भविष्यमा संस्थाको व्यवसाय विस्तार तथा वित्तीय सुदृढीकरणका लागि एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने (मर्जर तथा एक्विजिसन) सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ। यसका लागि उपयुक्त वित्तीय संस्थाको पहिचान गर्न तथा समझदारी पत्रमा हस्ताक्षर गर्न सञ्चालक समितिलाई अधिकार दिइएको संस्थाले जनाएको छ।