काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत १५ विकास बैंकमध्ये १३ बैंकले लाभांश घोषणा गरिसकेका छन्। दुइ बैंकले भने हालसम्म लाभांशको प्रतिशत सार्वजनिक गरेका छैनन्। यस वर्ष विकास बैंकहरूमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी प्रतिफल घोषणा गर्दै अग्रस्थान ओगटेको छ।
गत आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट (नेप्से) मा सूचिकृत कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम तीव्र बनेको छ। हालसम्म नेप्सेमा सूचिकृत एक सयभन्दा बढी कम्पनीले आफ्ना शेयरधनीलाई प्रतिफल घोषणा गरिसकेका छन्। यसमा वाणिज्य बैंक, विकास बैंक, बीमा, फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर, होटल तथा पर्यटन, उत्पादनमूलक र अन्य क्षेत्रका कम्पनी समेटिएका छन्।
मुक्तिनाथ शीर्षमा, कामना सेवा दोस्रो
मुक्तिनाथ विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई करिब १८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। दोस्रो स्थानमा रहेको कामना सेवा विकास बैंकले करिब १५ प्रतिशत लाभांश घोषणा गरेको छ।
त्यसैगरी, साइन रेसुङ्गा विकास बैंकले करिब १३ प्रतिशत, जबकि साग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकले करिब १० प्रतिशत लाभांश घोषणा गरेका छन्। यी तथ्यांकले पछिल्लो समय केही विकास बैंकहरूको नाफा अवस्था अपेक्षाकृत सुधारोन्मुख देखिएको संकेत गर्छ।
लगातार लाभांश नदिने बैंकहरू
नेप्सेमा सूचिकृत विकास बैंकहरूमध्ये केही बैंकले लामो समयदेखि शेयरधनीलाई कुनै पनि प्रतिफल दिन सकेका छैनन्। नारायणी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म लाभांश वितरण गरेको छैन । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ देखि नै शेयरधनीलाई प्रतिफल दिन सकेको छैन । यससँगै, सिन्धु विकास बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकले पनि लगातार तीन आर्थिक वर्षदेखि कुनै प्रकारको लाभांश घोषणा नगरेको नेप्से तथ्यांकमा देखिन्छ । यसले ती बैंकहरूको वित्तीय अवस्था र व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको छ।

२ बैंकको घोषणा अझै बाँकी
सूचिकृत विकास बैंकहरूमध्ये एक्सेल डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकले भने गत आर्थिक वर्षको लाभांश घोषणा गर्न बाँकी नै छ। यी दुवै बैंकले अघिल्ला दुई आर्थिक वर्ष (२०७९/८० र २०८०/८१) मा पनि लाभांश वितरण गरेका थिएनन्।
बैंकिङ्ग प्रणालीमा तरलता अवस्था सहज भए पनि कर्जा विस्तार कमजोर रहँदा र नाफा दबाबमा पर्दा केही विकास बैंकहरू लाभांश घोषणा गर्न हच्किएको देखिन्छ। यसले विकास बैंकहरूको दीर्घकालीन वित्तीय स्वास्थ्य र लगानीकर्ताको विश्वासमा असर पार्न सक्ने जानकारहरू बताउँछन्।





About Us
प्रतिक्रिया