मर्चेन्ट बैंकर्सहरुलाई दिँदै आएको संस्थागत परामर्श सेवामा नयाँ व्यवस्था, बोर्डले दियो यस्तो निर्देशन

मर्चेन्ट बैंकर्सहरुलाई दिँदै आएको संस्थागत परामर्श सेवामा नयाँ व्यवस्था, बोर्डले दियो यस्तो निर्देशन


बैकिङ्ग समाचार । 
मर्चेण्ट बैंकरहरुले दिँदै आएको संस्थागत परामर्श सेवामा नयाँ व्यवस्था गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले नीतिगत रुपमा मर्चेण्ट बैंकहरुले प्रवाह गर्दै आएको संस्थागत लगानी परामर्शलाई व्यवस्थित गर्न कदम चालेको हो । 

बोर्डका अनुसार अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुको कामलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि आवश्यक जनशक्ति, कार्यस्थल, कार्यालय उपकरण, सेवा संचालनका लागि आवश्यक नीति, विनियमावली तथा कार्यविधि लगायतका विषय समावेश गरी सेवा प्रवाह गर्ने व्यवस्था गरिएको हो ।

बोर्डबाट संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुको कार्य थप व्यवस्थित एवं प्रभावकारी रुपमा संचालनका लागि आवश्यक जनशक्ति, कार्यस्थल, कार्यालय उपकरण, सेवा संचालनका लागि आवश्यक नीति, विनियमावली तथा कार्यविधि बनाउन समेत निर्देशन दिएको छ ।

बोर्डले अनुमतिपत्र प्राप्त सबै संस्थागत परामर्श सेवा प्रदान गर्ने मर्चेन्ट बैंकरहरुले तोकिएको संरचना ६ महिनाभित्र तयार गरी कार्य गर्ने व्यवस्था मिलाउने निर्देशन दिएको छ ।

बोर्डले आगन्तुक प्रतिक्षा, ग्राहक सेवा, स्टोर, सूचना प्रविधि सहित व्यवसाय संचालन सम्बन्धी कार्य संचालन गर्न छुट्टाछुट्टै कक्ष भएको कम्तिमा एक हजार वर्ग फिट क्षेत्रफलको कार्यस्थल बनाउन निर्देशन दिएको छ ।

कार्यालय भवन वा क्षेत्रफल भाडामा लिने भए कम्तीमा दुई वर्ष अवधिको बहाल सम्बन्धी सम्झौता भएको हुनुपर्ने, संचार साधनः टेलिफोन, फ्याक्स सहित इमेल÷इन्टरनेटको व्यवस्था गर्नुपर्ने, सूचना प्रविधिः आवश्यक कम्प्युटर सफ्टवेयर, सर्भर र हार्डवयर, कम्प्युटर/ल्यापटप जनशक्ति व्यवस्था अनुसार कम्प्युटर, प्रिन्टर, सिसिटिभी, पावर व्याकअप, हाजिरी मेशिन, कार्यालयका लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा अन्य कार्यालय सामाग्री तयार भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै प्रमुख कार्यकारी अधिकृतले अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनेपर्ने छ ।

यता उद्योग, वाणिज्य वा धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानुन वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा तीन वर्ष कार्य गरेको अनुभव भएको हुनुपर्ने बोर्डको भनाइ छ ।

धितोपत्र व्यवसाय संचालन सम्बन्धी परामर्श सेवाका लागिका लागि कम्तिमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापनमा स्नातकोत्तर गरेको, कम्तिमा कानून विषयमा स्नातकोत्तर गरेको र चार्टर्ड एकाउन्टेन्सी वा फाइनान्सियल एनालिष्ट गरेको (यो योग्यता भएको व्यक्ति प्रमुख कार्यकारी अधिकृत भएको अवस्थामा अनिवार्य नहुने) व्यक्ति हुनुपर्ने छ ।

अनुपालना अधिकृतले अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको एक जना अनुपालना (कम्प्लाइन्स) अधिकृत हुनुपर्ने छ ।