नेपाल माइक्रो इन्स्योरेन्सका कर्मचारीसँगको योजनामा ठगी गरेका हाैं : हरि बुढाथोकी


काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्सको बीमा दाबी ठगी गर्ने हरि बुढाथोकीले बयानका क्रममा नेपाल माइक्रो इन्स्योरेन्सका कर्मचारी विकेश कुँवरसँगको योजनामा ठगी गरेको बताएका छन्। उनले कुँवरसँग १ वर्ष अगाडि इन्स्योरेन्सकै सिलसिलामा चिनजान भएको बताएका छन्। त्यसपछि कुँवरको सल्लाहमा काल्पनिक दुर्घटना देखाई बीमा दाबी गर्ने योजना बनाएका थिए। 

बुढाथोकीकाे काम सवारी धनी र सवारी साधनको व्यवस्थापन गर्ने र निज विकेश कुँवरले बीमा दाबी लिने व्यवस्थापन गर्ने रहेको उनले बयानमा बताएका छन्। त्यही क्रममा बीमा दाबी लिन प्रहरी सिफारिस चाहिने हुँदा नक्कली दुर्घटना सिफारिस बनाइदिने प्रहरी कर्मचारी खोज्ने क्रममा प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवलदार धुर्ब शाहीसँग कुराकानी गर्दा उनले हुन्छ म बीमा सिफारिस बनाइदिन्छु भनेको बुढाथाेकीले बताए।

साथै, उनले  २०८१ माघमा  मनोज कुमार आचार्यले चलाएको बागमती प्रदेश ३९०२९०१० प २२८० नम्बरको मोटरसाइकलले जडीबुटी सडक खण्डमा पैदलयात्री वर्ष ३२ की तारादेवी काफ्लेलाई ठक्कर दिई घाइते बनाई तत्काल उपचारको लागि बि.एण्ड बि अस्पतालमा लगी उपचार समेत गराएको उनले बताए ।